नवलपरासीमा करोडौँका डायलासिस मेसिन गोदाममै थन्किए, बिरामी भने उपचार खोज्दै जिल्ला बाहिर जान बाध्य

नवलपरासीमा करोडौँका डायलासिस मेसिन गोदाममै थन्किए, बिरामी भने उपचार खोज्दै जिल्ला बाहिर जान बाध्य

नवलपरासी : भौतिक संरचना र प्राविधिक जनशक्तिको अभावका कारण नवलपरासी पश्चिममा करोडौँ मूल्यका डायलासिस मेसिनहरू प्रयोगविहीन भएका छन्। 

नेपाल सरकार तथा विभिन्न दातृ निकायबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका मेसिनहरू सञ्चालनमा आउन नसक्दा मिर्गौलाका बिरामीहरू महँगो उपचारका लागि जिल्ला बाहिर जान बाध्य छन्।

नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलिखेलले बर्दघाट नगरपालिका–१४ को सहिद स्मृतिलाई विसं २०८१ मा उपलब्ध गराएको एक करोड २० लाख मूल्य बराबरका छ वटा डायलासिस प्रयोगविहीन छन्। 

आर्थिक अभाव र मेसिन सञ्चालनका लागि संरचना अभाव भएकाले प्रयोगविहीन भएको अस्पतालले बताएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिबीबहादुर थापाले लामो समयदेखि मेसिन प्रयोगमा ल्याउन नसक्दा स्थानीय बिरामीलाई सेवा दिन नसकिएको बताए। 

त्यसैगरी बुटवलस्थित मुटु अस्पतालले केही महिनाअघि  सुनवल नगरपालिकालाई दिएका साढे ८ करोड बराबरका पाँच वटा मेसिन पनि प्रयोगविहीन छन्। नगरपालिकाको आफ्नै १५ श्ययाको अस्पताल भवन निर्माणकै चरणमा रहेकाले र प्राविधिक जनशक्ति नहुँदा मेसिन थन्किएको नगरप्रमुख विमला अर्यालको भनाइ छ।

यता रामग्रामस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा रहेका ५ वटा डायलासिस मेसिनबाट दैनिक १७ जना बिरामीले सेवा लिइरहेका छन्। तर, बिरामीको चाप अत्यधिक भएकाले धेरैले पालो नपाउँदा बुटवल वा भैरहवा जान बाध्य छन्।

प्रयोगविहीन भएका मेसिन सञ्चालनमा आए बिरामीलाई सहज हुने पृथ्वीचन्द्र अस्पतालका व्यवस्थापक सिमा काफ्लेको भनाइ छ। 

जेठ ३०, २०८३ शनिबार १४:५४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।