सिंहदरबारको केन्द्रीय क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाख १ हजार रुपैयाँ जरिवाना

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाख १ हजार रुपैयाँ जरिवाना

काठमाडौं : देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित केन्द्रीय क्यान्टिनमा लापरबाही भेटिएपछि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाही गरेको छ। 

बजार अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने अखाद्य सामग्री फेला परेपछि विभागले क्यान्टिन सञ्चालकलाई २ लाख १ हजार रुपैयाँ जरिवाना तिराएको हो।

विभागले शुक्रबार गरेको अनुगमनका क्रममा क्यान्टिनमा १७ किलोग्राम घुन लागेको चनाको दाल, ११ किलोग्राम ओसिएको नेपाली बदाम तथा १४ वटा फुटेको अण्डा भेटिएको जनाएको छ। अनुगमन टोलीले करिब छ हजार पाँच सय ६० रुपैयाँ बराबरका ती अखाद्य तथा उपभोगका लागि अयोग्य सामग्री तत्काल नष्ट गरेको थियो।

उक्त क्यान्टिन जि एण्ड बि क्याफे ग्रुपले सञ्चालन गर्दै आएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने खाद्य सामग्री भण्डारण तथा बिक्रीका लागि राखिएको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्दै जरिवाना गरेको जनाएको छ।

जेठ ३०, २०८३ शनिबार १०:४२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।