मारिया अस्पतालमा मेडिकल काउन्सिलको सिलबन्दी

मारिया अस्पतालमा मेडिकल काउन्सिलको सिलबन्दी

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले बालुवाटारस्थित ‘मारिया हस्पिटल’ (मारिया हेल्थ सेन्टर प्रा.लि.) मा सिलबन्दी गरेको छ। 

अस्पतालले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएपछि काउन्सिलले सिलबन्दी गरेको हो। 

काउन्सिलले गरेको अनुगमनमा उक्त अस्पताल गैरकानुनी रूपमा  सञ्चालन भएकाले सिलबन्दी गरी हाललाई बन्द गरिएको मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।

विना अनुमति सञ्चालनमा रहेकाले उक्त अस्पतालका  सञ्चालकमाथि कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंमा पत्राचार गरिएको उनले बताए। 

यस्तै, काउन्सिलले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी उक्त अस्पतालमा चिकित्सा अभ्यासमा संलग्न तीन चिनियाँ नागरिकको चिकित्सक अभ्यास अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरेको छ। 

उक्त संस्थाको बोर्डमा नाम राखी आचारसंहिता उल्लङ्घन गर्ने नेपाली चिकित्सकलाई पनि दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको डा. पाण्डेले जानकारी दिए।

जेठ २८, २०८३ बिहीबार ११:३६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।