नेपाल मेडिकल कलेजमा ८० वर्षीय वृद्धको सफल एन्जियोप्लास्टी

नेपाल मेडिकल कलेजमा ८० वर्षीय वृद्धको सफल एन्जियोप्लास्टी

काठमाडौं : नेपाल मेडिकल कलेज (जोरपाटी) मा मुटुको रक्तनली पूर्ण रूपमा बन्द भएका ८० वर्षीय वृद्ध काजी शेर्पाको सफल एन्जियोप्लास्टी गरिएको छ।

कलेजका मुटु रोग विभाग प्रमुख डा. सूर्यराज पाठक नेतृत्वको टोलीले शेर्पाको मुटुको ब्लक खोल्न सफल भएको हो।

विगत १० वर्षदेखि उच्च रक्तचाप र मुटु दुख्ने समस्याबाट ग्रसित शेर्पालाई गम्भीर अवस्थामा अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो।

परीक्षणका क्रममा उनको मुटुका दुईवटा रक्तनली बन्द भएको पाइएपछि चिकित्सक टोलीले तत्कालै एन्जियोप्लास्टी प्रविधिमार्फत उपचार गरेको थियो।

कलेजमा अत्याधुनिक क्याथ ल्याब स्थापना भएसँगै मुटुका बिरामीहरूलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता अन्त्य भएको छ। विगत तीन महिनाको अवधिमा कलेजले करिब ५० जना बिरामीको सफल एन्जियोप्लास्टी गरिसकेको छ।

कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनका अनुसार स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन कलेजले पछिल्लो समय १२८ स्लाइसको सिटी स्क्यान र १.५ टेस्लाको एमआरआई सेवा समेत सञ्चालनमा ल्याएको छ।

जेठ २६, २०८३ मंगलबार ११:४३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।