मैले जे भन्यो नेतान्याहूले लुरुलुरु त्यही गर्छन् : अमेरिकी राष्ट्रपति ट्रम्प
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बीबीसीसँगको संक्षिप्त कुराकानीमा आफूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई कुनै कुरा अह्राएमा उनले सोही बमोजिम गर्ने दाबी गरेका छन्।
ट्रम्पसँग बीबीसीकी उत्तर अमेरिका सम्पादक सारा स्मिथले सोमबार फोनमा कुराकानी गरेकी थिइन्।
उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई इजरायली प्रधानमन्त्री नेतान्याहूलाई इरानमाथि आक्रमण रोक्न कसरी राजी गराउनुभयो भनेर सोधेकी थिइन्।
जवाफमा ट्रम्पले भने, ‘मैले केवल यति भनेँ- हामीले समझदारीका साथ काम गर्नुपर्छ। हामी एउटा अत्यन्त बलियो र राम्रो सम्झौताको निकै नजिक छौँ।’
उनले अगाडि थपे, ‘त्यहाँ न त परमाणु हतियार हुनेछन्, न त अरू केही। हामीले कमन सेन्सको प्रयोग गर्नुपर्छ।’
अमेरिकाले आग्रह गर्दागर्दै पनि इजरायलले इरानी हमलाको जवाफमा मिसाइल प्रहार गरेको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले स्पष्टीकरण दिँदै भने, ‘होइन, होइन। उनीहरू पहिले नै प्रहारका लागि निस्किसकेका थिए। उनीहरू बाटोमै थिए।’
नेतान्याहूसँगको सम्बन्धबारे चर्चा गर्दै ट्रम्पले भने, ‘यदि मैले उनलाई केही गर्न भन्छु भने, उनले त्यो गरिहाल्छन्।’
दुई महिनाअघि युद्धविराम लागू भएयता आइतबार पहिलो पटक इजरायल र इरानले एक-अर्कामाथि हवाई हमला गरेका थिए। त्यसलगत्तै अमेरिकी र इजरायली नेताबीच यो कुराकानी भएको हो।
जेठ २६, २०८३ मंगलबार ०७:२६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।