नेपालमा एक वर्षमै १५ प्रतिशतले बढे ब्रेन ट्युमरका बिरामी, वीर अस्पतालमा असार १६ सम्म निःशुल्क शल्यक्रिया

नेपालमा एक वर्षमै १५ प्रतिशतले बढे ब्रेन ट्युमरका बिरामी, वीर अस्पतालमा असार १६ सम्म निःशुल्क शल्यक्रिया

काठमाडौं : नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अनुसार विगत एक वर्षमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या १५.४ प्रतिशतले वृद्धि भएको छ।

केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वर्ष २०८१ मा २ हजार ६०० जना ब्रेन ट्युमरका बिरामीको उपचार भएकोमा वर्ष २०८२ मा यो सङ्ख्या बढेर करिब ३ हजार पुगेको छ।

सोमबार विश्व ब्रेन ट्युमर दिवसको अवसरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा आयोजित कार्यक्रममा देशका २० भन्दा बढी न्यूरो केन्द्रहरूको तथ्याङ्क विश्लेषण गर्दै यो विवरण सार्वजनिक गरिएको हो।

ब्रेन ट्युमरका बिरामीको बढ्दो ग्राफका बीच वीर अस्पतालले यस वर्ष पनि असार १६ गते (जुन महिनाको अन्त्य) सम्म ब्रेन ट्युमरको शल्यक्रिया शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ।

यस निर्णयबाट आर्थिक अभावका कारण उपचार गराउन नसकेका विपन्न बिरामीहरूलाई प्रत्यक्ष रूपमा ठूलो राहत पुग्ने केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार उपचारका लागि अस्पताल पुगेका कुल बिरामीमध्ये ५०.०७ प्रतिशत पुरुष र ४९.९३ प्रतिशत महिला रहेका छन्। उमेर समूहका आधारमा ३० देखि ५० वर्ष उमेर समूहका व्यक्तिहरूमा ब्रेन ट्युमरको समस्या सबैभन्दा बढी देखिएको छ।

प्रादेशिक रूपमा हेर्दा बागमती प्रदेशका सबैभन्दा बढी ३६.४ प्रतिशत बिरामी उपचारका लागि अस्पताल पुगेका छन्। यसको तुलनामा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अझै पनि विशिष्टीकृत उपचार सेवामा सर्वसाधारणको पहुँच निकै कमजोर रहेको तथ्याङ्कले देखाउँछ।

केन्द्रका संस्थापक अध्यक्ष एवं वरिष्ठ न्यूरो सर्जन प्रा. डा. राजीव झाले नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या वर्षेनी बढिरहेको भन्दै प्रारम्भिक अवस्थामै रोगको पहिचान र उपचार भएमा बिरामीको ज्यान जोगाउन सकिने सुझाव दिएका छन्।

यसै अवसरमा नेपालमा न्यूरोअंकोलोजी सेवामा महत्त्वपूर्ण योगदान पुर्याएबापत डा. चारधाम बुढाथोकीलाई ‘च्याम्पियन अफ न्यूरोअंकोलोजी केयर-२०२६’ बाट सम्मान गरिएको छ।

जेठ २५, २०८३ सोमबार १२:४७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।