फिलिपिन्समा शक्तिशाली भूकम्प, इन्डोनेसिया र जापानमा सुनामीको चेतावनी

फिलिपिन्समा शक्तिशाली भूकम्प, इन्डोनेसिया र जापानमा सुनामीको चेतावनी

काठमाडौं : फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान स्थानीय समय अनुसार करिब ७:४० बजे शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ७.८ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पपछि सो क्षेत्रमा ६.७ म्याग्निच्युडसम्मका थुप्रै पराकम्पहरू महसुस गरिएका छन्।

भूकम्पलगत्तै फिलिपिन्स, इन्डोनेसिया र जापानसहितका देशहरूमा सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ।

इन्डोनेसियाको उत्तर-पूर्वी तटीय क्षेत्रमा साना सुनामीका छालहरू देखिइसकेका छन् भने जापानले आफ्नो दक्षिणी ओकिनावा टापु र प्रशान्त तटीय क्षेत्रमा १ मिटरसम्मको सुनामी आउन सक्ने भन्दै सतर्कता अपनाउन निर्देशन दिएको छ।

फिलिपिन्सको भूकम्प मापन केन्द्रले तटीय क्षेत्रका नागरिकलाई तुरुन्तै उचाइ भएका सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

प्रभावित मिन्डानाओ क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको खबर आए पनि हालसम्म मानवीय क्षतिको कुनै आधिकारिक विवरण प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

जेठ २५, २०८३ सोमबार ०८:०४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।