हलसँग रिसिइबी साध्ने माध्यम मात्रै बन्यो ओटिटी,  निश्चलदेखि ऋचासम्म फ्लप

हलसँग रिसिइबी साध्ने माध्यम मात्रै बन्यो ओटिटी,  निश्चलदेखि ऋचासम्म फ्लप
कभर एआइको सहयोगमा बनाइएको हो।

काठमाडौं : नेटफ्लिक्स, अमेजन प्राइम, हटस्टार जस्ता ओटिटी प्लेटफर्मको नेपालमा कति ग्राहक छन्? विवरण सार्वजनिक छैनन्। तर त्यहाँ आउने नयाँ फिल्म अनि सिरिजबारे नेपाली प्रयोगकर्तामाझ सामाजिक सञ्जालमा हुने चर्चाले यस्ता प्लेटफर्मका नेपाली ग्राहकको संख्या बाक्लै देखाउँछ।

अन्तर्राष्ट्रिय ओटिटी प्लेटफर्मप्रति नेपाली दर्शकहरूको आकर्षण देखेरै हुनसक्छ नेपालमा पनि आफ्नै ओटिटी प्लेटफर्महरू आए। नेपालमा पनि 'भिडियो पसल', 'एमएसएम', 'युएनए' र 'सिनेमाघर' जस्ता ओटिटी प्लेटफर्म आए। यीमध्ये केही सर्भरको शुल्कसमेत तिर्न नसकेर बन्द भए भने केही धुकचुकमै चलिरहेका छन्। 

कोभिड-१९ को महामारीका कारण जनजीवन ठप्प हुँदा मनोरञ्जनको लागि उपयुक्त माध्यमको ओटिटीलाई हेरिएको थियो। निश्चल बस्नेत लगायतका केही निर्माताले हलवालाहरूको एकाधिकारको विकल्पमा ओटिटी प्लेटफर्म रोजेका थिए। तर हलमा विद्रोह गरेर ओटिटीतिर हान्निएका बस्नेतले नै आफ्नो फिल्म युट्युबमा राख्न थाले। 

योजनाबिना झोकमा खुलेका ओटिटी

हलमा राम्रो शो नपाएको झोकमा गत असोजमा निश्चल बस्नेतले फिल्म ‘बेहुली फ्रम मेघौली’ एक सातामै हलबाट उतारेर ‘एमएसएम’ नामक ओटिटीमा राखे। निश्चलले सामाजिक सञ्जालमार्फत आफ्नो फिल्म हलमा नलगाउने चेतावनी दिएका थिए। उनले लेखेका थिए, "हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौँ।"

हलवालासँग रिसाएर उनले फिल्म हलबाट उतारे अनि ‘एसएमएस’ नामक ओटिटी’मा राखे। फिल्मले ओटिटीमा उत्साहजनक व्यापार गरेको दाबी गरियो। तर, यो सफलता अपवाद मात्र बन्यो। उनले आफ्नो फिल्म 'दिमाग खराब' निःशुल्क प्लेटफर्म युट्युबमै राखे। निर्वाचनको माहौलमा निःशुल्क माध्यममा फिल्म राख्नुमा केही राजनीतिक स्वार्थ नदेखिएको हैन तर त्यसमा व्यापारिक स्वार्थ पनि गाँसिएकै देखिन्छ।

गत पुस २६ गते धुम्बाराहीमा विशेष कार्यक्रम राखेर ‘युएनए डिजिटल’ नामक ओटिटी प्लेटफर्मको सुरुवात गरियो। जापानमा नेपाली फिल्म वितरण गर्दै आएका उज्ज्वल गुरागाईँले सुरु गरेको उक्त प्लेटफर्मको उद्घाटन तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरेका थिए।

उद्घाटनको समयमा निकै चर्चा पाए पनि अहिले युएनए डिजिटल ओटिटीको अवस्था अज्ञात छ। शुभारम्भमा सञ्चालकले गत १८ माघदेखि विभिन्न ओरिजिनल सिरिज र फिल्महरू हेर्न पाउने घोषणा गरे पनि हाल प्लेटफर्ममा कुनै नयाँ अपडेट देखिँदैन। यसका सिइओ गुरागाईँ समेत जापान फर्किसकेका छन्।

सोही समयमा आगामी १ फेब्रुअरीदेखि प्रयोगकर्ताले एप्पलको आईओएस र गुगल प्ले स्टोरमा उपलब्ध एपसहित ब्राउजर र टिभी संस्करण प्रयोग गर्न सकिने भनेका थिए।

सोही दिन यस ओटिटीमार्फत दर्शकले आशिष ढकालको वेब सिरिज ‘सम्बन्ध तिम्रो मेरो’, ‘क्राइम इन स्टोरी’, अभिनेता सलोन बस्नेतको फिल्म ‘रुम नम्बर ८’, ‘रियल रिदम’, ‘चोइज’, ‘सिनेपट न्युज’ आयुसा महर्जनको होस्टमा ‘चेलीबेटी’ साथै ‘काठमाडौं नाइट’ प्रसारण हुने जानकारी गराइयो। तर, अहिले उक्त ओटिटीको अवस्था अज्ञात छ। ओटिटीबारे बुझ्न सिइओ गुरागाईँलाई फेसबुक र ह्वाइटएपबाट सम्पर्क गर्ने प्रयास पनि सफल भएन।

भिडियो पसल र एमएसएम ओटिटीका सहजकर्ता ओम अग्रवालले भने अहिले ओटिटी प्लेटफर्मको अवस्था नाजुक रहेको बताए। ओटिटी निर्माण गर्न सजिलो तर चलाउन धेरै गाह्रो भएकाले भिडियो पसल बन्द गरेको बताए। 

ओएसआर डिजिटलका सञ्चालकसमेत रहेका अग्रवालले भिडियो पसल बन्द गरेर एमएसएम चलाउने जिम्मा विदेशमा रहेका एक व्यक्तिलाई दिएका रहेछन्।

"ओटिटीको अवस्था नाजुक छ," उनले भने, "एमएसएममा केही फिल्महरू छन्। यसमा थोरै मात्रामा भए पनि चहलपहल देखिन्छ। तर अरू ओटिटीमा ठप्पै छ भन्दा फरक पर्दैन। दर्शक नै छैनन्। सर्भरको खर्च धान्न पनि मुस्किल भएपछि निरन्तरता दिनै सकिएन।"

यता सिनेमाघर ओटिटी प्लेटफर्मका सञ्चालक सागर खरेलले पहिलाको तुलनामा ओटिटीका दर्शक कम भए पनि दर्शक शून्यकै अवस्थामा नरहेको बताए। उनले ओटिटीको बजार बढिरहेको तर गति सुस्त रहेको दाबी गरे।

खरेलले ओटिटी युजरहरू बढ्दै गइरहे पनि आफूहरूको प्रतिस्पर्धा युट्युबमा निःशुल्क हेर्न सकिने फिल्महरू रहेको बताए। नेटफ्लिक्स अनि अमेजन प्राइम जस्ता सशुल्क प्लेटफर्म नेपाली ओटिटीको प्रतिस्पर्धी नभएको उनले बताए। 

“युट्युबमा निःशुल्क हेर्न मिल्ने गरी फिल्म राख्ने संस्कारसँग हाम्रो प्रतिस्पर्धा हो,” उनले भने “ नेटफ्लिक्स अनि अमेजन प्राइमसँग हाम्रो प्रतिस्पर्धा नै हैन।”

अभिनेत्री ऋचा शर्माले विस २०७७ सालमा हलको विकल्प भन्दै ‘चलचित्र टिभी एप’ खोलेकी थिइन्। अहिले त्यो बन्द भइसकेको छ।

विदेशका नेपालीलाई ओटिटीमा तान्न गाह्रो 

नेपाली ओटिटीका अधिकांश सम्भावित दर्शक विदेशमा बस्ने नेपाली र नेपाली भाषी हुन्। स्वदेशमा  फिल्म हल नपुगेका र इन्टरनेटको पहुँच भए दर्शक हुन्। युट्युबमा राखिने नेपाली फिल्मको भ्यूज हेर्ने हो भने हलको विकल्पमा डिजिटल प्लेटफर्ममा फिल्म हेर्न रुचाउने दर्शकको संख्या टन्नै देखिन्छन्। तर ती दर्शक ओटिटीमा गाँसिन रुचाएको देखिन्न।

सञ्चालकहरू यसमा मुख्य समस्या पाएसम्म निःशुल्क नै हेर्न चाहने दर्शकको मनोविज्ञानसँगै अन्तर्राष्ट्रिय क्षेत्रबाट अनलाइन पेमेन्टको प्रविधिको समस्यालाई मुख्य कारक मान्छन्। ओटिटीमा फिल्म हेर्न नेपालका पेमेन्ट गेटवे ई-सेवा, खल्ती, आइएमई पे लगायत चल्तीमा छन्। तर यी अन्तर्राष्ट्रिय रूपमा सहजै चल्दैनन्।

अन्तर्राष्ट्रिय कार्डहरू नेपाली एपमा लिङ्क गर्न प्राविधिक कठिनाइहरू देखिए। गुगलपे, आइपे अनि पेपाल जस्ता विश्वमा चलेका अनि सुरक्षित मानिएका डिजिटल वालेट नेपालमा चल्दैनन्। नेपालमा रहेका दर्शकमा ओटिटी प्लेटफर्ममा पैसा तिरेर फिल्म र सिरिज हेर्नुपर्छ भन्ने बानी लागेको छैन। अलिअलि बानी लागेका नेपाली अनि नेपाली भाषीका लागि सहज रूपमा भुक्तानी गर्ने माध्यमै छैन। मुख्य समस्या यही देखिन्छ।

भिडियो पसलका सञ्चालक अग्रवाल विदेशमा रहेको पैसा स्वदेशमा ल्याउन पनि निकै झन्झट रहेकाले नेपालमा ओटिटिको विकास हुन नसकेको बताउँछन्। नेपालबाट जसरी नेटफ्लिक्स लगायत सहजै सब्सक्राइब गर्न सकिन्छ त्यसरी नै विदेश वा नेपालबाट नेपाली ओटिटीको भुक्तानी र सब्सक्राइब गर्न सहज नहुनु पनि मुख्य समस्या रहेको उनले बताए।

सिनेमाघरका सिइओ खरेल पनि ओटिटी चलाउन सहज नभएको बताउँछन्। कमाइको हिसाबले हल नै पहिलो प्राथमिकता रहेको उनले बताए।

उनी भन्छन्, "हलको जतिको कमाई ओटिटीबाट हुँदैन। पहिलो प्राथमिकता त हल नै हो। विश्व बजारमा हेर्ने हो भने हलबाट आउने र ओटिटीबाट आउने पैसामा आकाश जमिनकै फरक छ। किनभने ओटिटीले छोटो समयमा धेरै फिल्म हेर्न दिइरहेको हुन्छ। हामीले पनि १८९ रुपैयाँमा सबै फिल्म हेर्न दिइरहेका हुन्छौँ। सबै परिवार बसेर हेर्न मिल्छ। त्यो भएर हलको जति व्यापार त हुँदैन।"

उनले पहिला फिल्मको लागत कम भएकाले युट्युबबाट आउने रकम राम्रै देखिए पनि अहिले पनि युट्युबभन्दा ओटिटीको आम्दानी बढी हुने दाबी गरे। उनले अहिले ओटिटीमा युट्युबभन्दा पाँच गुणा बढी आम्दानी हुने दाबी गरे। तर हलसँग भने तुलना नहुने उनले बताए।

खरेलले पनि डिजिटल पेमेन्टमा समस्या रहेको बताए। कतिपय दर्शकले नेपालमा रहेका आफन्तमार्फत नेपालको डिजिटल वालेटबाट शुल्क तिरेर प्रयोग गर्ने गरेको र रिचार्ज कार्डको सुविधा पनि बनाए पनि विदेशमा यो सुविधा नभएको बताए।

जेठ २४, २०८३ आइतबार १८:३१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।