कृषि उत्पादनमा सम्पन्न मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण, अवस्था 'सङ्कटपूर्ण'
धनुषा : मधेस प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ।
हालै प्रदेशका १३३ स्थानीय तहमा गरिएको एक बृहत पोषण परीक्षण अभियानका क्रममा करिब १६ प्रतिशत बालबालिका कुपोषणबाट पीडित भएको तथ्य बाहिर आएको हो।
स्वास्थ्य निर्देशनालय मधेस प्रदेशले संचालन गरेको उक्त अभियानमा २ लाख ८३ हजार ३०८ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो। जसमध्ये ४४ हजार ६५४ जना (१५.७६ प्रतिशत) बालबालिकामा कुपोषण भेटिएको छ। जसमध्ये ३५ हजार ८८३ जना कुपोषित, आठ हजार ७७१ जना शीघ्र कुपोषित र दुई लाख ३३ हजार १८२ जना सामान्य अवस्थामा रहेका तथ्याङ्कमा उल्लेख छ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार यो अवस्थालाई 'सङ्कटपूर्ण' मानिन्छ।
मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले ठुलो संख्यामा गरिएको यो परीक्षणले मधेसका बालबालिकाको वास्तविक र चिन्ताजनक स्वास्थ्य अवस्थालाई छर्लङ्ग पारेको बताए।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव तथा असन्तुलित खानपान जस्ता कारणले मधेसमा कुपोषणका समस्या जटिल बन्दै गएको बताए।
कृषि उत्पादनमा अग्रणी रहेर पनि बाल कुपोषण यसरी उच्च हुनु चिन्ताको विषय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेस प्रदेशका सचिव डा. प्रमोद यादवले बताए।
मधेस प्रदेशमा करिब २९ प्रतिशत बालबालिका जन्मिने गर्छन् भने देशको कुल जनसंख्याको २२ प्रतिशत हिस्सा यहीँ बसोबास गर्छ।
जेठ २१, २०८३ बिहीबार १२:५२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।