स्वास्थ्य बिमा: निजी अस्पतालमा आकस्मिक सेवा मात्र दिन बोर्डको निर्देशन
काठमाडौं : स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी अस्पतालहरूलाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको मात्र बिमा सुविधाअन्तर्गत उपचार गर्न निर्देशन दिएको छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनकुमार साहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बिमाअन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिइएको बताएका हुन्।
बोर्डले यही जेठ १६ गतेबाट वित्तीय स्रोतको अभावलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरेको थियो।
बोर्डले बिमामा भार पर्नेगरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचार सेवा प्रदान नगर्न आग्रहसमेत गरेको थियो।
त्यसैगरी, उपचारका लागि आउने सेवाग्राही वा बिरामीका आफन्तहरूले सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सृजना गरेर आवश्यकताभन्दा बाहिरको सेवा लिन बाध्य नपार्न समेत बोर्डले आग्रह गरेको छ।
हाल स्वास्थ्य बिमा बोर्डसँग आबद्ध भई ३६ वटा निजी अस्पतालले बिमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्।
जेठ २०, २०८३ बुधबार १३:१८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।