अमेरिकी सेनाद्वारा इरानी टापुमा हवाई आक्रमण, तेल ट्याङ्करमा मिसाइल प्रहार

अमेरिकी सेनाद्वारा इरानी टापुमा हवाई आक्रमण, तेल ट्याङ्करमा मिसाइल प्रहार

एजेन्सी : अमेरिका र इरानबीच खाडी क्षेत्रमा सैन्य तनाव तीव्र बनेको छ।

अमेरिकी सेनाले इरानको केसिएम टापुमा ‘आत्मरक्षा’का लागि भन्दै हवाई आक्रमण गरेको छ भने पानीजहाज र खाडी देशहरूलाई लक्षित गरी प्रहार गरिएका इरानी ब्यालिस्टिक मिसाइल तथा ड्रोनहरू खसालेको दाबी गरेको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकमी) का अनुसार हर्मोज स्ट्रेटमा रहेको इरानी सैन्य नियन्त्रण केन्द्र (ग्राउन्ड कन्ट्रोल स्टेशन)लाई लक्षित गरी सो हमला गरिएको हो।

इरानले मध्यपूर्व क्षेत्रमा गर्न खोजेको सम्भावित आक्रमणको जवाफमा यो कदम चालिएको जनाएको छ। अमेरिकी सेनाले व्यावसायिक जहाजहरूतर्फ लक्षित गरिएका तीनवटा इरानी ड्रोन पनि खसालेको दाबी गरेको छ।

यता इरानले भने बदलास्वरूप क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार र हेलिकप्टरहरूमा मिसाइल तथा ड्रोनद्वारा प्रत्याक्रमण गरेको जनाएको छ।

सेन्टकमीका अनुसार इरानले कुवेततर्फ दुई र बहराइनतर्फ तीनवटा मिसाइल प्रहार गरेकोमा ती सबैलाई बीचैमा निस्तेज पारिएको थियो।

इरानी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले भने हर्मोज स्ट्रेटको सुरक्षामा बाधा पुर्याए अमेरिकी सेनाले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।

यसैबीच, अमेरिकाले गत अप्रिल १३ देखि हर्मोज स्ट्रेटमा लगाएको नौसैनिक नाकाबन्दीलाई थप कडा पारेको छ।

नाकाबन्दी उल्लंघन गर्दै इरानको खार्क टापुतर्फ जाँदै गरेको बोत्स्वानाको झन्डा अङ्कित ‘एम/टी लेक्सी’ नामक तेल ट्याङ्करलाई अमेरिकी विमानले ‘हेलफायर मिसाइल’ प्रहार गरी निष्क्रिय बनाएको छ।

२४ घण्टाको अवधिमा पटक-पटक दिइएको चेतावनीलाई चालक दलले बेवास्ता गरेपछि जहाजको इन्जिन कोठामा मिसाइल प्रहार गरिएको सेन्टकमीले जनाएको छ। नाकाबन्दी सुरु भएयता हालसम्म ६ वटा व्यावसायिक जहाजलाई निष्क्रिय पारिएको र १२२ वटा जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी दाबी छ।

वार्तामार्फत महिनौँ लामो युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै दुई देशबिच पछिल्लो सैन्य मुठभेड भएको हो। यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौता गर्न इच्छुक रहेको र त्यो अमेरिकाका लागि फाइदाजनक हुने बताएका छन्।

ट्रम्पले सम्झौताका सर्तहरूमा हर्मोज स्ट्रेटको सुरक्षा र इरानबाट अत्यधिक संवर्द्धित युरेनियम हटाउने विषय थप्न चाहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। तर, इरानको विदेश मन्त्रालयले भने अमेरिकाले बारम्बार आफ्नो माग परिवर्तन गरिरहेको र विरोधाभासपूर्ण मागहरू अघि सारेको आरोप लगाएको छ।

तनावकै बिच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संसद् समक्ष बयान दिँदै इरानलाई हर्मोज स्ट्रेट खुला गर्नका लागि प्रतिबन्धहरूमा कुनै छुट नदिइने स्पष्ट पारेका छन्। उनले प्रतिबन्ध हटाउने कुरा इरानको आणविक कार्यक्रममा आउने सुधारमा मात्र निर्भर रहने बताएका छन्।

सांसदहरूसँगको चर्काचर्कीका बिच विदेशमन्त्री रुबियोले ‘यो युद्ध समाप्त भइसकेको’ दाबी गर्दै अमेरिकी कूटनीति दृढ रहेको बताएका छन्।

जेठ २०, २०८३ बुधबार ०९:३२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।