इजरायली हवाई आक्रमणमा लेबनानमा बुबा-छोरासहित तीन जनाको मृत्यु, दर्जन बढी घाइते
एजेन्सी : दक्षिण लेबनानका विभिन्न गाउँहरूलाई लक्षित गरी शनिबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परि बुबा-छोरासहित तीन जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्।
लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार पछिल्लो समय दक्षिण लेबनानमा इजरायली आक्रमणहरू तीव्र पारिएका छन्।
मृत्यु हुनेमध्ये दुई जनाको पहिचान बुबा र छोराका रूपमा भएको छ। टायर सहरको उत्तरमा पर्ने अन्सारको अल-मर्ज क्षेत्रमा रहेको आफ्नै घरमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा परि जुहैर अहमद हासिम र उनका छोरा अलीको मृत्यु भएको हो। सोही आक्रमणमा सोही परिवारका अन्य सात जना सदस्य घाइते भएका छन्।
लेबनानी समाचार एजेन्सीका अनुसार इजरायली सेनाले शनिबार बिहान सरिफा-हब्बौस-नबातिह सडकमा पनि हवाई आक्रमण गरेको छ, जसमा एक सर्वसाधारणको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
यस्तै, नबातिहस्थित नबिह बेरी सरकारी अस्पताल जाने सडकलाई लक्षित गरी गरिएको अर्को हवाई आक्रमणमा तीन जना घाइते भएका छन्।
स्थानीय समयअनुसार बिहान करिब ८:१५ बजे अन्सार सहरको केन्द्रमा रहेको अल-खलील सपिङ सेन्टरमा भएको हवाई आक्रमणले सो व्यावसायिक भवन पूर्ण रूपमा ध्वस्त पारेको छ।
यसै गरी, बिहान ९:३० बजे जाबादिनी सहरमा पनि इजरायली सेनाले शृङ्खलाबद्ध हवाई आक्रमणहरू गरेको समाचार एजेन्सीले जनाएको छ।
जेठ १६, २०८३ शनिबार १४:२६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।