मधेशमा ट्रमा र मिर्गौला उपचार केन्द्र स्थापना गरिने, नर्सहरूको रात्रिकालीन भत्ता दोब्बर र स्वयंसेविकाको भत्ता ५० प्रतिशत वृद्धि

मधेशमा ट्रमा र मिर्गौला उपचार केन्द्र स्थापना गरिने, नर्सहरूको रात्रिकालीन भत्ता दोब्बर र स्वयंसेविकाको भत्ता ५० प्रतिशत वृद्धि

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत स्वास्थ्य क्षेत्रको विशिष्टीकरण, स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउने प्रोत्साहन प्याकेज र लक्षित वर्गको सामाजिक सुरक्षामा ध्यान केन्द्रित गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको बजेट वक्तव्यमा स्वास्थ्यकर्मीहरूको भत्ता वृद्धि, पोषण कार्यक्रम र अपाङ्गता भएका व्यक्तिहरूको पुनःस्थापनाका लागि विभिन्न योजनाहरू घोषणा गरिएको छ। यी कल्याणकारी कार्यक्रमका लागि सरकारले २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

मधेश प्रदेशका नागरिकलाई जटिल स्वास्थ्य समस्या र आपतकालीन उपचारका लागि सहज पहुँच सुनिश्चित गर्न मधेशमा एउटा अत्याधुनिक ट्रमा सेन्टर र मिर्गौला उपचार केन्द्र स्थापना गरिने बजेटमा उल्लेख छ। यस व्यवस्थाले त्यस क्षेत्रका नागरिकले मिर्गौला रोगको उपचार र गम्भीर दुर्घटनाका बिरामीले तत्कालै आकस्मिक सेवा प्राप्त गर्न सक्नेछन्।

स्वास्थ्य सेवामा अहोरात्र खटिने नर्सहरू र समुदाय स्तरमा योगदान पुर्याउने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहित गर्न सरकारले ठूलो राहतको घोषणा गरेको छ। नयाँ बजेटअनुसार सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको नाइट अलाउन्सलाई दोब्बर बनाइएको छ।

यसैगरी, ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई दिइँदै आएको साविकको यातायात तथा अन्य भत्तामा ५० प्रतिशतले वृद्धि गरिएको छ।

अति सीमान्तकृत र विपन्न वर्गका बालबालिकाको स्वास्थ्य सुधारका लागि पाँच वर्षमुनिका दलित बालबालिकाको पोषण कार्यक्रमका लागि बजेटमा विशेष कोषको व्यवस्था गरिएको छ।

यसैगरी, अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण, सीप विकास र उनीहरूलाई समाजमा सम्मानजनक ढंगले स्थापित गर्नका लागि विशेष ‘अपाङ्गता पुनःस्थापना कार्यक्रम’ सञ्चालन गरिने बजेट वक्तव्यमा जनाइएको छ।

जेठ १५, २०८३ शुक्रबार १७:३१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।