अमेरिका र इरानबिच ६० दिन युद्धविरामका लागि सहमति भएको चर्चा, तर केही विषय टुङ्गो लाग्न बाँकी

अमेरिका र इरानबिच ६० दिन युद्धविरामका लागि सहमति भएको चर्चा, तर केही विषय टुङ्गो लाग्न बाँकी

एजेन्सी : अमेरिका र इरानबीच एउटा सम्झौताका लागि सहमति बनेको खबरहरू बाहिरिएका छन्।

यस सम्झौतामा हाल कायम युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याउने र इरानको आणविक कार्यक्रमको भविष्यका बारेमा पुनः वार्ता सुरु गर्ने विषय समेटिएको जनाइएको छ।

यद्यपि, अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले कुनै पनि ठोस सम्झौतामा पुग्नुअघि अमेरिका र इरानले अझै धेरै बाँकी रहेका मुद्दाहरू सुल्झाउन आवश्यक रहेको बताएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौतामा छिट्टै हस्ताक्षर गर्ने तयारी गरिरहेका छन् कि भनी बीबीसीले सोधेको प्रश्नमा उपराष्ट्रपति भ्यान्सले दुवै पक्ष कहिले र कुन ढाँचामा अन्तिम निर्णयमा पुग्छन् भन्नेबारे टिप्पणी गर्न अहिल्यै हतार हुने उल्लेख गरे।

यसैबिच, बीबीसी पर्सियनका अनुसार इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निमले यो सम्झौताले अझै अन्तिम रूप नपाएको र यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको जनाएको छ।

यसअघि अमेरिकी अधिकारीहरूले दुई देशबिच सम्झौताको खाकामा सहमति बनेको तर यसलाई राष्ट्रपति ट्रम्प र इरानी नेतृत्वको स्वीकृति मिल्न बाँकी रहेको जानकारी बीबीसीलाई दिएका थिए।

यो वार्तापश्चात् पनि सुरक्षा चुनौतीहरू भने कायम नै देखिएका छन्। हालै कुवेतमाथि हमला भएको जानकारी आएपछि अमेरिकी सेनाले इरानमाथि कमजोर अवस्थामा रहेको युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।

जेठ १५, २०८३ शुक्रबार ०७:४५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।