चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्ने दौडमा निमित्त उपाध्यक्ष डा. गिरी
काठमाडौं : चिकित्सा शिक्षा आयोगको निमित्त उपाध्यक्षको जिम्मेवारी पाएका प्रा.डा. श्रीकृष्ण गिरी उपाध्यक्षको नियुक्तिको दौडमा सामेल भएका छन्। केही दिनअघि मात्रै सरकारले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको जिम्मेवारी सुम्पेको थियो।
तर, आयोगको उपाध्यक्ष पदका लागि नाम सिफारिस गर्न गठित समितिले सार्वजनिक गरेको उम्मेदवारको सूचीमा उनको नाम पनि समावेश देखियो। समितिले दरखास्त दिएका १० जनाको व्यावसायिक कार्ययोजनासहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको छ।
जसमा डा. गिरीको नाम क्रमसङ्ख्या सातमा रहेको छ। उनका अलावा प्रा.डा. गेहनाथ बराल, प्रा.डा. दिनेश कुमार लम्साल, प्रा.डा. दीपेन्द्र श्रेष्ठ, प्रा.डा. देवेन्द्र बहादुर क्षेत्री, सह प्रा. प्रमोद कुमार यादव, डा. रोशन पोखरेल, प्रा.डा. सञ्जय कुमार श्रेष्ठ, प्रा.डा. सुरज बज्राचार्य र प्रा.डा. सैलेस प्रधान रहेका छन्।
सिफारिस समितिको निर्णयअनुसार उम्मेदवारहरूको सोचपत्र प्रस्तुतीकरण आगामी जेठ २६ गते र अन्तर्वार्ता जेठ २७ गते हुनेछ। उक्त कार्यक्रम लोक सेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा सञ्चालन हुने उल्लेख छ।

जेठ १४, २०८३ बिहीबार २०:३३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।