अमेरिका र इरानबीच फेरि सैन्य आक्रमण : युद्धविराम संकटमा, वार्ताप्रति ट्रम्प असन्तुष्ट
एजेन्सी : अमेरिकी सेनाले इरानको रणनीतिक बन्दरगाह सहर बन्दार अब्बासस्थित एक सैन्य अखडालाई लक्षित गरी हवाई आक्रमण गरेको छ।
यसको जवाफमा इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी)ले पनि अमेरिकी वायुसेनाको अखडालाई निशाना बनाएको दाबी गरेको छ, यद्यपि उक्त अखडा कुन देशमा छ भन्ने खुलाइएको छैन।
यसैबीच, अमेरिकी सैन्य अखडा रहेको खाडी मुलुक कुवेतले आफ्नो वायु रक्षा प्रणालीले ‘मिसाइल र ड्रोन’ लाई आकाशमै रोकेर नष्ट गरेको बताएको छ। तर, ती मिसाइल र ड्रोन कहाँबाट प्रहार गरिएका थिए भन्ने कुवेतले खुलाएको छैन।
यो पछिल्लो सैन्य टकरावले अमेरिका र इरानबीचको निकै कमजोर अवस्थामा रहेको युद्धविरामलाई संकटमा पारेको छ। अमेरिकाले आत्मरक्षाका लागि भन्दै पछिल्लो तीन दिनमा इरानमाथि गरेको यो दोस्रो आक्रमण हो।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार बन्दार अब्बासमा पाँचौं ड्रोन प्रक्षेपण गर्न लाग्दा सो स्थानमा आक्रमण गरिएको हो।
सेन्टकमले हर्मुज जलमार्ग आसपास खतरा पैदा गर्ने चारवटा इरानी ड्रोनलाई खसालेको दाबी समेत गरेको छ। अर्कोतर्फ, इरानले यस आक्रमणलाई युद्धविरामको गम्भीर उल्लङ्घन भन्दै यसको कडा जवाफ दिने चेतावनी दिएको छ।
हर्मुज जलमार्गमा अवरोध र प्रतिबन्ध
यसअघि पनि अमेरिकाले दक्षिणी इरानका मिसाइल अखडा र हर्मुज जलमार्गमा विस्फोटक (माइन) बिछ्याउन लागेका इरानी डुङ्गाहरूलाई लक्षित गरी आक्रमण गरेको थियो।
यस द्वन्द्वका कारण हजारौँ व्यापारिक जहाजहरू सो क्षेत्रमा अलपत्र परेका छन्। विश्वको कुल तेल र ग्यासको पाँचौँ हिस्सा ओसारपसार हुने यो महत्त्वपूर्ण जलमार्ग बन्द हुँदा विश्वव्यापी इन्धन व्यापार प्रभावित भएको छ।
अमेरिकाले सो जलमार्गमा आवतजावत गर्ने जहाजहरूबाट शुल्क उठाउने इरानी निकाय ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’माथि प्रतिबन्ध समेत लगाएको छ।
अमेरिकी अर्थ मन्त्रालयका अनुसार उक्त निकायलाई शुल्क बुझाउने जुनसुकै जहाजमाथि अमेरिकी प्रतिबन्ध लाग्न सक्नेछ। इरानले भने यो शुल्क वैधानिक नेभिगेसन सेवाका लागि उठाइएको दाबी गरेको छ।
इरानसँगको वार्ताबारे ट्रम्पको असन्तुष्टि
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता अघि बढे पनि अमेरिका हालसम्मको मस्यौदाबाट सन्तुष्ट नभएको बताएका छन्।
बुधबार ह्वाइट हाउसमा आयोजित क्याबिनेट बैठकमा बोल्दै ट्रम्पले इरान सम्झौताका लागि निकै इच्छुक भए पनि अमेरिकाको सर्त पूरा नभएसम्म सम्झौता नहुने र सर्त नमाने पुनः व्यापक सैन्य आक्रमण सुरु गर्ने चेतावनी दिए।
इरानी सञ्चारमाध्यमले सार्वजनिक गरेको सम्झौताको मस्यौदा (जसमा हर्मुज जलमार्ग खोल्ने र अमेरिकी सेना सो क्षेत्रबाट फिर्ता हुने उल्लेख थियो) लाई ह्वाइट हाउसले ‘पूर्ण रूपमा काल्पनिक र झूटो’ भनेको छ।
राष्ट्रपति ट्रम्पले खाडी मुलुकहरूलाई इजरायलसँगको सम्बन्ध सामान्य बनाउन ‘अब्राहम एकोर्ड्स’ मा हस्ताक्षर गर्न पनि आग्रह गरेका छन्।
इजरायलले गत फेब्रुअरी २८ देखि अमेरिकासँग मिलेर इरानविरुद्धको युद्ध सुरु गरेको थियो र ऊ लेबनानमा इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँग पनि युद्ध लडिरहेको छ।
जेठ १४, २०८३ बिहीबार १३:३०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।