सिभिल अस्पतालका कार्यकारी निर्देशकबाट डा. रेग्मीको राजीनामा, डा. रविलाई निमित्तको जिम्मेवारी
काठमाडौं : निजामति कर्मचारी अस्पताल (सिभिल अस्पताल)का कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन्। उनले मुख्य सचिव समक्ष राजीनामा दिएका हन्।
डा. रेग्मीको राजीनामासँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी त्यहीँ ग्याट्रोइन्टेरोलोजिष्ट डा. रवि प्रकाश शर्मालाई दिएको छ।
डा. रेग्मीले राजीनामा दिएकाले बुधबारदेखि अस्पतालका कार्यकारी निर्देशकको जिम्मेवारी पाएको डा. शर्माले उकेरालाई जानकारी दिए।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रेग्मी गत फागुनमा अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।
बिदा स्वीकृत नगरी निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक भएको भन्दै डा. मोहन चन्द्र रेग्मीलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि बर्खास्त गरिसकेको छ।
यसअघि प्रतिष्ठानको कार्यकारिणी समितिको २०८२ कात्तिक २ को बैठकले प्रतिष्ठानमा स्थायी रहेका डा. रेग्मीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानमा हाजिर हुन पटक-पटक गरिएको पत्राचारपछि उनी नगएपछि प्रतिष्ठानले उनलाई बर्खास्त गरेको हो।
२०८२ कात्तिक २ मा पेस भएको प्रस्तावमा ‘प्रतिष्ठानको २०८२ असार २३ गतेको पत्रबाट प्रतिष्ठानको नियमावली, २०५५ अन्तर्गत सेवाबाट स्वतः खारेज गर्ने कारबाही प्रक्रिया अगाडि बढाउन फायल पेस गरिएको’ उल्लेख छ।
बैठकले प्रस्ताव अनुसार २०८२ जेठ १५ देखि लागु हुनेगरी स्वत बर्खास्त गर्ने निर्णय गर्दै नगद, जिन्सी र कागजातहरूको बरबुझारथ गर्न डा. रेग्मीलाई अनुरोध गरिसकेको छ।
डा. रेग्मीले प्रतिष्ठानबाट बिदा नै स्वीकृत नगराई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएको त देखिएको विषयमा यस अघि नै उकेराले समाचार सम्प्रेषण गरेको थियो। तर, प्रतिष्ठानको शिक्षाध्यक्षबाट विभागीय सहमति लिएको उनले दाबी गरेका थिए।
जेठ १४, २०८३ बिहीबार ०९:५८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।