निजी अस्पतालमा स्वास्थ्य बीमाका गैर-आकस्मिक सेवा जेठ १६ देखि स्थगित गरिने
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले आगामी जेठ १६ गतेदेखि लागू हुने गरी निजी स्वास्थ्य संस्थाहरूबाट प्रवाह गरिने स्वास्थ्य बीमाका गैर-आकस्मिक सेवाहरू स्थगित गर्ने निर्णय गरेको छ।
बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि निजी अस्पतालहरूमा आकस्मिक बाहेकका बीमा सेवाहरू रोक्ने निर्णय गरिएको हो।
बोर्डको जेठ ११ गते बसेको बैठकले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने आकस्मिक (इमर्जेन्सी) सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू स्थगन गर्ने निर्णय गरेको हो।
बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जेठ १२ गते जारी पत्र अनुसार यो निर्णय आगामी जेठ १६ गतेदेखि लागू हुनेछ।
यस निर्णय अनुसार सरकारी बीमा कार्यक्रममा आबद्ध निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य बीमा अन्तर्गतका नियमित जाँच र उपचार सेवा रोकिने छन् भने आकस्मिक सेवाहरू भने नियमित रूपमा सुचारु रहनेछन्।

जेठ १३, २०८३ बुधबार १३:४२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।