अमेरिकाले दक्षिणी इरानमा फेरि गर्‍यो हवाई आक्रमण, मिसाइल साइट र डुङ्गाहरूमा निसाना

अमेरिकाले दक्षिणी इरानमा फेरि गर्‍यो हवाई आक्रमण, मिसाइल साइट र डुङ्गाहरूमा निसाना

एजेन्सी : अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ हवाई आक्रमण गरेको छ। इरानी मिसाइल साइटहरू र समुद्रमा विस्फोटक खानी (माइन्स) बिछ्याउन खोजिरहेका डुङ्गाहरूलाई निसाना बनाएर सो आक्रमण गरिएको अमेरिकी सेनाले जनाएको छ।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार आफ्ना सैनिकहरूको सुरक्षाका लागि ‘आत्मरक्षा’ स्वरूप यो कदम चालिएको हो।

अमेरिकी सेनाका प्रवक्ता क्याप्टेन टिम हकिन्सले दुवै देशबीच युद्धविराम जारी रहेकै बेला आफ्ना सैनिकहरूको रक्षाका लागि यो कारबाही गरिएको बताए। यो आक्रमण रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग नजिकै रहेको इरानी नौसैनिक बेस र बन्दर अब्बास बन्दरगाह क्षेत्रमा भएको हो।

आक्रमणबारे इरानले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। तर, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले वार्तामा केही प्रगति भए पनि तत्कालै सम्झौता भइहाल्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।

हाल छलफलमा रहेको सम्झौताको मस्यौदामा ६० दिनका लागि युद्धविराम थप गर्ने, बन्द गरिएको ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग पुनः खुला गर्ने र इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने विषयहरू समावेश छन्।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै सम्झौता अझै सम्भव रहेको बताए।

रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्प कि त देशको हितमा हुने राम्रो सम्झौता गर्ने, कि त कुनै सम्झौता नगर्ने अडानमा रहेको उल्लेख गरे। रुबियोले अन्तर्राष्ट्रिय जलमार्ग बन्द गर्ने इरानी प्रयास गैरकानुनी र अस्वीकार्य रहेको पनि स्पष्ट पारे।

अमेरिकी गुप्तचर निकायका अनुसार इरानका सर्वोच्च नेता मोज्तबा खामेनी इजरायली आक्रमणमा घाइते भएपछि हाल अज्ञात स्थानमा लुकेर बसेका छन्। यसले गर्दा आफ्ना कूटनीतिक दूतहरूसँग उनको सञ्चार हुन गाह्रो भइरहेको र वार्ताको गति सुस्त बनेको बताइएको छ।

इरानसँग आणविक हतियार बनाउन मिल्ने करिब ४४० केजी संवर्द्धित युरेनियम रहेको आशंका गरिएको छ। राष्ट्रपति ट्रम्पले उक्त युरेनियम तुरुन्तै अमेरिकालाई बुझाउनुपर्ने वा इरानसँग मिलेर सोही ठाउँमा नष्ट गर्नुपर्ने माग गरेका छन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि ठूलो हवाई आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध सुरू भएको थियो। जवाफमा इरानले ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेपछि विश्वभर इन्धनको मूल्य आकाशिएको थियो। दुवै देशबीच गत अप्रिल ८ देखि अस्थायी युद्धविराम लागू भए पनि तनाव भने कायमै छ।

जेठ १२, २०८३ मंगलबार १२:२८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।