ट्रम्पको प्रस्ताव पाकिस्तानद्वारा अस्वीकार, अब्राहम सम्झौतामा सहभागी नहुने स्पष्टीकरण

ट्रम्पको प्रस्ताव पाकिस्तानद्वारा अस्वीकार, अब्राहम सम्झौतामा सहभागी नहुने स्पष्टीकरण

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानसहितका मुस्लिम तथा अरब मुलुकहरूलाई ‘अब्राहम सम्झौता’मा सहभागी हुन गरेको आह्वानलाई पाकिस्तानले अस्वीकार गरेको छ।

पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले यो प्रस्ताव आफ्नो देशको मौलिक विचारधारा र आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाझिने भएकाले यसलाई समर्थन गर्न नसकिने स्पष्ट पारेका छन्।

पाकिस्तानी सञ्चारमाध्यम ‘समा टिभी’सँगको अन्तर्वार्तामा रक्षामन्त्री आसिफले इजरायलसँगको सम्बन्ध सामान्यीकरणसम्बन्धी अवधारणा अस्वीकार्य रहेको र यस विषयमा पाकिस्तानको ऐतिहासिक नीति परिवर्तन नभएको बताए।

उनले पाकिस्तानी राहदानी (पासपोर्ट) मै इजरायललाई मान्यता नदिने राष्ट्रिय नीति स्पष्ट रूपमा उल्लेख गरिएको तर्क समेत प्रस्तुत गरे।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानसँगको सम्भावित सम्झौतासँग जोड्दै साउदी अरब, कतार, पाकिस्तान, टर्की लगायतका मुस्लिम मुलुकहरूलाई अब्राहम सम्झौतामा हस्ताक्षर गर्न सामूहिक आह्वान गरेका थिए।

सन् २०२० मा अमेरिकी मध्यस्थतामा सुरु भएको अब्राहम सम्झौता इजरायल र अरब राष्ट्रहरूबीच कूटनीतिक सम्बन्ध सामान्यीकरण गराउने पहल हो।

जेठ १२, २०८३ मंगलबार १२:०९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।