ट्रम्पले बताए इरानसँग मिलेर गर्न चाहेको एउटा मात्र काम
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा रहेको संवर्द्धित युरेनियम नष्ट गर्न चाहेको बताएका छन्।
ट्रम्पको यो नयाँ भनाइ उनको अघिल्लो अभिव्यक्तिभन्दा फरक छ, जसमा उनले इरानको संवर्द्धित युरेनियम अमेरिकालाई सुम्पिनुपर्ने माग गरेका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेख्दै भनेका छन्, ‘संवर्द्धित युरेनियम (न्युक्लियर डस्ट) तुरुन्तै अमेरिकालाई बुझाइनेछ ताकि त्यसलाई त्यहाँ लगेर नष्ट गर्न सकियोस्। यो पनि राम्रो हुनेछ कि इरानसँग मिलेर यसलाई यस्तो ठाउँमा नष्ट गरियोस्, जहाँ एटोमिक इनर्जी कमिसन वा सो सरहको कुनै संस्था यस प्रक्रियाको साक्षी बनोस्।’
बीबीसी फारसीका अनुसार, ‘एक्सियोस’का पत्रकार बराक राविदले ट्रम्पको यो पछिल्लो अभिव्यक्तिले अमेरिका आफ्नो पुरानो अडानबाट केही पछि हटेको र इरानले अघि सारेका सर्तहरू नजिक पुग्न खोजेको संकेत गर्ने विश्लेषण गरेका छन्।
यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि इरानको संवर्द्धित युरेनियमको भण्डार पूर्ण रूपमा नष्ट वा स्थानान्तरण नगरेसम्म जारी द्वन्द्व अन्त्य भएको मान्न नसकिने अभिव्यक्ति दिएका थिए।
ट्रम्पको यो नयाँ प्रस्तावले यस क्षेत्रको आणविक विवादलाई कुन दिशा दिनेछ भन्नेबारे कूटनीतिक वृत्तमा चासो बढेको छ।
जेठ १२, २०८३ मंगलबार ०७:३५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।