अस्ट्रेलियामा नेपाल र भारतका विद्यार्थीको भिसा अप्रुभल रेट ह्वात्तै घट्यो
एजेन्सी : अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यामा ठूलो कटौती गर्न थालेको छ। भिसा अस्वीकृत (रिजेक्ट) हुने दरले रेकर्ड ब्रेक ग कीर्तिमानी स्तरमा पुगेसँगै नेपाल र भारतका विद्यार्थीहरू यसबाट सबैभन्दा बढी प्रभावित भएका छन्।
कोरोना महामारीपछि अस्ट्रेलियाले विदेशी विद्यार्थीको आगमन दरमा एक तिहाइभन्दा बढीले कटौती गरेको छ।
आर्थिक वर्ष २०२२/२३ मा ५ लाख ७७ हजार २९५ पुगेको विद्यार्थी भिसा स्वीकृत सङ्ख्या गत आर्थिक वर्षमा घटेर ३ लाख ७१ हजार ५६४ मा झरेको छ, जुन करिब ३५ प्रतिशतको कम हो।
चालू आर्थिक वर्ष २०२५/२६ को पहिलो नौ महिना (जुलाई-मार्च) मा केवल २ लाख ५७ हजार ८७८ विद्यार्थी भिसा मात्र जारी गरिएको छ।
नेपाली र भारतीय विद्यार्थीमाथि ठूलो असर
तथ्याङ्कअनुसार नेपाली विद्यार्थीहरूको भिसा अप्रुभल रेटमा ह्वात्तै कमी आएको छ। सन् २०२५ को मार्चमा ८१.७ प्रतिशत रहेको नेपालीहरूको भिसा अप्रुभल रेट सन् २०२६ को मार्चमा घटेर केवल ४२.३ प्रतिशतमा सीमित भएको छ।
त्यस्तै, भारतीय विद्यार्थीको भिसा अप्रुभल रेट पनि सन् २०२६ मार्चमा ५२.४ प्रतिशतमा झरेको छ। बंगलादेशी विद्यार्थीहरूको भिसा स्वीकृत दर पनि अघिल्लो वर्षको ८६.६ प्रतिशतबाट घटेर ५९ प्रतिशतमा आइपुगेको छ।
गत वर्षको अन्त्यतिर भारतको केरलमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने ठूलो गिरोह पक्राउ परेपछि अस्ट्रेलियाले गत जनवरीदेखि भारत, नेपाल, बंगलादेश र भुटानका विद्यार्थीका लागि भिसा नियमहरूमा कडाइ गरेको थियो। प्रहरीले उक्त गिरोहले भारतभर करिब १० लाख मानिसलाई नक्कली कागजात उपलब्ध गराएको हुन सक्ने चेतावनी दिएको थियो।
विदेशी विद्यार्थी कटौतीको यस निर्णयले अस्ट्रेलियाको शैक्षिक क्षेत्र र समग्र अर्थतन्त्रमा ठुलो वित्तीय असर पर्ने देखिएको छ।
‘युनिभर्सिटिज अस्ट्रेलिया’का अनुसार दक्षिण एसियाली मुलुकहरूबाट हुने विद्यार्थी कटौतीका कारण शिक्षा क्षेत्रले १.४ अर्ब डलर र समग्र अर्थतन्त्रले कम्तीमा थप १ अर्ब डलर बराबरको आम्दानी गुमाउनेछ।
जेठ ८, २०८३ शुक्रबार ११:३७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।