ट्रम्प र सी चिनफिङ वार्ता : कुनै ठूलो व्यापार सम्झौता भएन, एलन मस्कसहितका शीर्ष व्यवसायी चीनमा

ट्रम्प र सी चिनफिङ वार्ता : कुनै ठूलो व्यापार सम्झौता भएन, एलन मस्कसहितका शीर्ष व्यवसायी चीनमा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको वार्तामा कुनै ठूलो व्यापार सम्झौता हुन सकेन।

अमेरिका र चीनबीच गत वर्षको अक्टोबरमा व्यापार युद्ध रोक्ने सहमति भने भयो। उक्त सम्झौताअनुसार अमेरिकाले चिनियाँ सामानहरूमा बढाउने भनिएको भारी ट्यारिफ हाललाई रोकेको छ।

त्यस्तै, चीनले पनि आफ्नो तर्फबाट रेयर अर्थको निर्यातमा गरेको कडाइलाई कम गरेको छ।

ह्वाइट हाउसका अनुसार दुई नेताहरूबीच बोर्ड अफ ट्रेड गठन गर्ने विषयमा भने सहमति भएको छ। यसको मुख्य उद्देश्य व्यापारिक सम्बन्धलाई व्यवस्थित बनाउनु हो, ताकि बारम्बार भन्सार शुल्कको विषयमा वार्ता गरिरहनु नपरोस्।

यद्यपि, अमेरिकी अधिकारीहरूले यो व्यवस्थालाई पूर्ण रूपमा लागू गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यस भ्रमणका क्रममा बोइङ विमानको ठूलो अर्डर र चिनियाँ पक्षबाट अमेरिकी ऊर्जा तथा कृषि उत्पादनहरूको खरिदबारे महत्त्वपूर्ण घोषणाहरू हुन सक्ने जानकारी दिएका छन्।

चर्चामा अमेरिकी व्यवसायीहरूको उपस्थिति
बुधबारदेखि सुरू भएको ट्रम्पको यस भ्रमणमा अमेरिकी व्यापारिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति निकै चर्चामा छ।

ट्रम्प आफैँले आफूसँग अमेरिकाका दर्जनौँ शीर्ष व्यवसायीहरूको प्रतिनिधिमण्डल चीन ल्याएको बताएका छन्। यसमा टेस्लाका सीईओ एलन मस्क र एनभिडियाका सीईओ जेनसेन हुआङलगायतका चर्चित अनुहारहरू समावेश छन्।

यी दुवै कम्पनीहरू अमेरिका-चीन आर्थिक सम्बन्धको सबैभन्दा संवेदनशील कडी मानिन्छन्। टेस्लाको चीनस्थित सांघाई प्लान्ट र त्यहाँका ग्राहकहरूमा ठूलो निर्भरता छ।

त्यसैगरी, एनभिडियाका माइक्रोचिपहरू विश्वव्यापी आर्टिफिसियल इन्टेलिजेन्स दौडको केन्द्रमा छन्। अमेरिकाले पहिले नै चीनलाई अत्याधुनिक कम्प्युटिङ प्रविधिको पहुँचबाट टाढा राख्न निर्यात नियन्त्रणका लागि विभिन्न कदम चालिसकेको छ।

यसै सन्दर्भमा एनभिडियाका सीईओ जेनसेन हुआङको उपस्थिति महत्त्वपूर्ण मानिएको छ। उनको नाम प्रतिनिधिमण्डलको सुरुवाती सूचीमा थिएन। यसले गर्दा एआई र सेमीकन्डक्टर चिप्ससम्म चीनको पहुँचको विषय यस वार्ताको महत्त्वपूर्ण हिस्सा हुन सक्ने अनुमान गरिएको छ।

जेठ १, २०८३ शुक्रबार ०८:०४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।