नेपालमा हान्टाभाइरसको जोखिम अत्यन्त न्यून रहेको स्वास्थ्य मन्त्रालयको दाबी, सचेत रहन आग्रह
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा हान्टाभाइरसको संक्रमण पुष्टि नभएको र यसको जोखिम अत्यन्त न्यून रहेको जानकारी दिएको छ।
विश्वका केही देशमा चर्चामा रहेको हान्टाभाइरस समूहको ‘एन्डिज भाइरस’ सार्ने मुसा नेपालमा सामान्यतया नपाइने भएकाले तत्काल अत्तालिनुपर्ने अवस्था नरहेको मन्त्रालयले स्पष्ट पारेको छ।
हान्टाभाइरस एक दुर्लभ भाइरल रोग हो। यो मुख्यतया संक्रमित मुसाको पिसाब, दिसा, र र्याल वा मुसाले दूषित बनाएको वातावरणसँगको प्रत्यक्ष सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्दछ।
वैज्ञानिक अध्ययनका अनुसार यो भाइरस मानिसबाट मानिसमा सर्ने सम्भावना अत्यन्त सीमित अवस्थामा र अत्यन्त नजिकको सम्पर्कमा मात्र रहन्छ।
जोखिम न्यून भए तापनि मन्त्रालयले व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
संक्रमणबाट जोगिन घर र वरपरको वातावरण सफा राख्न, घरभित्र मुसा प्रवेश गर्ने सम्भावित प्वाल वा स्थानहरू बन्द गर्न, मुसाको फोहोर सफा गर्दा अनिवार्य रूपमा मास्क र पञ्जा प्रयोग गर्न, नियमित रूपमा साबुनपानीले हात धुने बानी बसाल्न आग्रह गरेको छ।
यसका अलावा पनि ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने वा अन्य असामान्य लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत मन्त्रालयले भनेको छ।
स्वास्थ्य मन्त्रालयले हान्टाभाइरसका बारेमा चल्ने अनावश्यक अफवाह र भ्रमको पछि नलाग्न तथा अनावश्यक आतंक सिर्जना नगर्न सबैमा अनुरोध गरेको छ। मन्त्रालय र आधिकारिक निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न आग्रह गरिएको छ।
थप जानकारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नि:शुल्क हटलाइन नम्बर 'हेलो स्वास्थ्य १११५' मा सम्पर्क गर्न सकिने मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।
वैशाख ३०, २०८३ बुधबार ०७:२९:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।