स्ट्रेट अफ हर्मुजमा अमेरिका-इरान भिडन्त : सैन्य अखडामा बमबारी, युद्धविराम संकटमा
एजेन्सी : स्ट्रेट अफ हर्मुजमा भएको पछिल्लो सैन्य मुठभेडसँगै अमेरिका र इरानबीचको तनाव पुनः उत्कर्षमा पुगेको छ।
अमेरिकी सेनाले इरानी सैन्य ठेगानाहरूमा बमबारी गरेको दाबी गरेको छ भने इरानले अमेरिकाले 'युद्धविराम उल्लंघन' गरेको आरोप लगाएको छ।
संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकौम) का अनुसार ओमानको खाडीतर्फ अघि बढिरहेका अमेरिकी मिसाइल डिस्ट्रोयर जहाजहरूमाथि इरानी बलले मिसाइल, ड्रोन र साना डुङ्गामार्फत आक्रमण गरेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गरिएको हो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणकारीलाई 'भारी क्षति' पुर्याइएको र उनीहरूका कयौँ ड्रोन तथा डुङ्गा ध्वस्त पारिएको दाबी गरेका छन्।
यता, इरानले भने अमेरिकी पक्षले आफ्नो तेल ट्याङ्करमाथि पहिले आक्रमण गरेकाले जवाफी कारबाही स्वरूप अमेरिकी युद्धपोतमा मिसाइल प्रहार गरेको जनाएको छ।
इरानी नौसेनाले अमेरिकी जहाजहरूलाई 'तीव्र विस्फोटक' प्रहार गरी ठूलो क्षति पुर्याएको दाबी गरेको छ।
राष्ट्रपति ट्रम्पले इरानसँग वार्ता भइरहेको उल्लेख गर्दै 'वाल अफ स्टिल' (नाकाबन्दी) जारी रहने प्रष्ट पारेका छन्।
"इरानलाई कुनै पनि हालतमा परमाणु हतियार राख्न दिइने छैन," ट्रम्पले चेतावनी दिँदै भने, "सम्झौताको आवश्यकता मलाई भन्दा बढी इरानलाई छ। यदि हस्ताक्षर भएन भने उनीहरूले ठूलो मूल्य चुकाउनुपर्नेछ।"
केही दिनअघि मात्र 'प्रोजेक्ट फ्रीडम' (नाकाबन्दी) केही समयका लागि रोक्ने घोषणा गरिए पनि पछिल्लो भिडन्तले प्रस्तावित शान्ति सम्झौतालाई जोखिममा पारेको छ।
इरानले अमेरिकाको नयाँ प्रस्तावबारे समीक्षा गरिरहेको बताए पनि जलक्षेत्रमा आफ्नो मार्ग पालना नगर्ने जहाजमाथि 'निर्णायक कारबाही' गर्ने चेतावनी दिएको छ।
विश्वकै व्यस्त व्यापारिक जलमार्ग होर्मुज क्षेत्रमा दुई देशबीचको यो शक्ति संघर्षले युद्धको छाया थप गाढा बनाएको छ।
वैशाख २५, २०८३ शुक्रबार ०८:०१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।