अमेरिका र इरानबीच चाँडै युद्ध अन्त्य हुने सङ्केत, १४ बुँदे सम्झौताको तयारी

अमेरिका र इरानबीच चाँडै युद्ध अन्त्य हुने सङ्केत, १४ बुँदे सम्झौताको तयारी

एजेन्सी : अमेरिका र इरानबीच चलिरहेको युद्ध चाँडै अन्त्य हुने सङ्केत देखिएको छ।

इरानले युद्ध रोक्न अमेरिकाले पठाएको प्रस्तावमाथि आफूले विचार गरिरहेको बताएको छ। मिडिया रिपोर्टहरूका अनुसार दुवै देश चाँडै नै एउटा महत्त्वपूर्ण सम्झौताको नजिक पुग्दैछन्।

अमेरिकी समाचार संस्था ‘एक्सियोस’ले बुधबार जनाएअनुसार ह्वाइट हाउसले इरानसँग चाँडै १४ बुँदे सम्झौता हुने अपेक्षा गरेको छ।

सम्झौतामा मुख्यगरी इरानको परमाणु कार्यक्रम (युरेनियम संवर्द्धन) रोक्ने, इरानमाथिको प्रतिबन्ध हटाउने र स्ट्रेट अफ हर्मुजमा पानीजहाजको आवतजावत पुनः सुरु गर्ने जस्ता विषयहरू समावेश छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ इरानसँगको युद्ध छिट्टै सकिने दाबी गरेका छन्।

जर्जियामा रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘पछिल्लो २४ घण्टामा इरानसँग धेरै राम्रो कुराकानी भएको छ र सम्झौता सम्भव छ। हामी उनीहरूलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन दिन सक्दैनौँ। हामीले सही कदम चालिरहेका छौँ र यो युद्ध धेरै छिटो अन्त्य हुनेछ।’

दुई देशबीचको यो द्वन्द्वलाई स्थायी रूपमा समाधान गर्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निभाइरहेको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी प्रस्तावबारे आफ्नो धारणा पाकिस्तानी मध्यस्थकर्तामार्फत नै अमेरिकालाई जानकारी गराउने बताएका छन्।

अमेरिकी सञ्चारमाध्यम ‘सीएनएन’का अनुसार इरानले बिहीबार पाकिस्तानी मध्यस्थकर्तालाई आफ्नो जवाफ दिने तयारी गरेको छ।

यस्तै, पाकिस्तानका विदेशमन्त्री इशाक डारले पनि आफ्नो देशले अमेरिका र इरानबीचको युद्ध अन्त्य गराउन निरन्तर प्रयास गरिरहेको पुष्टि गरेका छन्।

सीएनएनले एक सुत्रलाई उद्धृत गर्दै दुवै देश सम्झौताको नजिक पुगेको उल्लेख गरेको छ।

गत फेब्रुअरी २८ देखि अमेरिका-इजरायल र इरानबीच प्रत्यक्ष युद्ध सुरु भए पनि पछिल्ला केही हप्तायता दुवै पक्षबीच अस्थायी युद्धविराम लागु छ।

अहिले पाकिस्तानको मध्यस्थतामा सोही युद्धविरामलाई स्थायी सम्झौतामा परिणत गर्ने प्रयास भइरहेको छ।

वैशाख २४, २०८३ बिहीबार ०९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।