उकेरा प्रभाव : सेटिङको पर्दाफासपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १७ करोडको टेन्डर रद्द

उकेरा प्रभाव : सेटिङको पर्दाफासपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १७ करोडको टेन्डर रद्द

काठमाडौं : स्वास्थ्य उपकरण तथा औषधि खरिदमा भएको सेटिङको खुलासापछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले करिब १७ करोड रुपैयाँको टेन्डर रद्द गरेको छ।

उकेराले शृङ्खलाबद्ध रूपमा सार्वजनिक गरेको प्रमाणसहितको समाचारपछि प्रतिष्ठान नेतृत्व आफ्नो बदमासीबाट पछि हट्न बाध्य भएको हो।

यसअघि, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि ३ करोड ४० लाखको ‘आर्थोस्कोपीसहितको इन्डोयुरोलोजी सेटअप’ खरिदमा गरेको सेटिङ उकेराले नै खुलासा गरेको थियो। उक्त खुलासापछि वैशाख ११ गते मदन भण्डारी प्रतिष्ठानले पनि टेन्डर रद्द गरेको थियो।

अहिले कर्णाली प्रतिष्ठानले पनि वैशाख २१ गते सोमबार सूचना प्रकाशित गरी अस्पताल उपकरण, औषधि र ल्याब सामग्री खरिदको प्रक्रिया रद्द गरेको हो।

पटक-पटकको खुलासापछि आत्मसमर्पण
प्रतिष्ठानले वैशाख २१ मा जारी गरेको सूचनामा ‘वैशाख १९ को निर्णयअनुसार बोलपत्रहरूको ठेक्का प्रक्रिया हाललाई रद्द गरिएको’ जनाएको छ।

उकेराले वैशाख ९ गते ‘स्वास्थ्य प्रतिष्ठानका एकपछि अर्को खरिदमा मिलेमतो: कर्णालीको १७ करोडको टेन्डर पनि सेटिङमै, उपकुलपति नै योजनाकार’ शीर्षकमा पहिलो समाचार सम्प्रेषण गरेको थियो।

त्यसपछि वैशाख १८ मा थप प्रमाणसहित दोस्रो समाचार ‘कर्णाली प्रतिष्ठानका उपकुलपति खरिद मिलेमतोमा मस्त, कुलपति बालेन सुकुमबासी भगाउँदैमा व्यस्त’ शीर्षकमा सार्वजनिक भएपछि प्रतिष्ठानको खरिदमा भएको अनियमितता छताछुल्ल भएको थियो।

सुरुमा उकेराको खुलासापछि प्रतिष्ठानले वैशाख १५ मा १८ वटा टेन्डरमध्ये ‘लिक्विड वेस्ट म्यानेजमेन्ट सिस्टम’को एउटा मात्रै टेन्डर रद्द गरेर १२ वटा मात्रैलाई सामान्य संशोधन गरी अगाडि बढाएको थियो।

तर, उकेराले थप तथ्यहरूसहित समाचार छापेपछि बाँकी १५ करोड १९ लाखको खरिद प्रक्रिया पनि पूर्ण रूपमा रद्द गरिएको हो। प्रतिष्ठानले २०८२ चैत २० मा एकै दिन १७ करोड ३ लाख बराबरको स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर आह्वान गरेको थियो।

तर बाँकी रहेको १५ करोड १९ लाखमध्ये प्रतिष्ठानले ७ करोड ३५ लाखको अस्पताल उपकरण (हस्पिटल रिलेटेड इक्विपमेन्ट), ४ करोड ५१ लाखकाे औषधि (फार्मेसी मेडिसिन) र ३ करोड ३१ लाखको ल्याब सामग्री (ल्याबोरेटोरी कञ्जुमेबल्स) खरिदको प्रक्रिया अघि बढाएको थियो।

यी सबै खरिदमा निश्चित सप्लायर्स कम्पनीलाई मात्रै मिल्ने गरी ‘प्राविधिक स्पेसिफिकेसन’ तयार पारिएको थियो।

को-को थिए योजनाकार?
यस खरिद सेटिङका मुख्य योजनाकार प्रतिष्ठानका उपकुलपति डा. पूजन कुमार रोकाया र रजिस्ट्रार लक्ष्मी चन्द्र महत देखिएका थिए। यसमा अस्पताल निर्देशक डा. कमल प्रसाद थानीको पनि सहयोगी भूमिका थियो।

प्राविधिक रूपमा सेटिङ मिलाउन परामर्शदाता (करार) का रूपमा कार्यरत बायोमेडिकल इन्जिनियर नेत्र सापकोटाले सक्रिय भूमिका खेलेका थिए। उनकै डिजाइनमा निश्चित कम्पनीलाई ठेक्का पर्ने गरी स्पेसिफिकेसन बनाइएको थियो।

यस्तै, खरिद प्रमुखसमेत रहेका प्रशासन प्रमुख द्वन्द्व बहादुर शाही, लेखा र प्राविधिक कमिटीका सदस्यहरूको समेत मिलेमतोबिना यति ठूलो भ्रष्टाचार प्रयास सम्भव नहुने देखिएको छ।

प्रतिष्ठान नेतृत्वले कानुनको छिद्रमा खेल्दै ‘सिंगल स्टेज: सिंगल इन्भेलोप बिडिङ प्रोसेड्युर’ विधि अपनाएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई समेत खुम्च्याइएको थियो।

उकेराले ती सबै कानुनी छिद्रमा खेलेर गरिएको सेटिङलाई प्रमाणसहित बाहिर ल्याएपछि प्रतिष्ठान नेतृत्व अन्ततः टेण्डर रद्द गर्न बाध्य भएको हो।

वैशाख २१, २०८३ सोमबार १४:४५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।