बुद्ध दर्शन र अर्थशास्त्र : सम्यक् आजीविकादेखि दिगो विकाससम्म

बुद्ध दर्शन र अर्थशास्त्र : सम्यक् आजीविकादेखि दिगो विकाससम्म

बुद्धको समयमा भिक्षुहरूलाई तीन जोर कपडा दिइन्थ्यो। बुद्धले जुनसुकै वस्तुको उपभोग पनि किफायती तरीकाले प्रयोग गर्नु सुझाउँथे।   एक दिन एक भन्ते बुद्धलाई चीवर (लगाउने लुगा ) सकिएको भन्न गए। 

बुद्धले सोधे, ‘पुरानो चीवर कसरी फाट्यो?’

ती भन्तेले भने, ‘हल्का फाट्न थालेको थियो, त्यसलाई तन्ना बनाएँ।’

बुद्धले फेरि सोधे, ‘त्यसपछि?’ 

भन्तेले भने, ‘त्यो पनि च्यातिएपछि भुईँ सफा गर्ने पोछा बनाएँ। त्यो पनि झुत्राझुत्रा भएपछि रातमा उज्यालोको लागि बत्ती बनाएर बालेँ।’

कपडाको पूरै उपभोग भयो। त्यो पनि भिन्न भिन्न परिस्थितिमा। अर्थशास्त्रमा ‘सस्टेनेबल कन्जम्सन’ (दिगो उपभोग) र सर्कुलर इकोनोमी (चक्रीय अर्थतन्त्र) को चर्चा हुने गर्छ। कुनै पनि वस्तुको उत्पादन गरेपछि लामो समयसम्म प्रयोग गर्नु पर्ने मान्यता चक्रीय अर्थतन्त्रले गर्छ। वस्तु उपभोगका लागि साझेदारी गर्ने, प्रथम पटक प्रयोग गरेपछि पुनः मर्मत गरेर प्रयोग गर्ने, अझ मिल्छ भने त्यसलाई रिसाइकल गरेर पुनः प्रयोग गर्नु पर्ने बताउँछ। 

प्राकृतिक स्रोतको अत्याधिक दोहन भएकाले त्यो रोक्न अत्याधिक उपभोगलाई कम गरेर दिगो उपभोग गर्नु पर्ने अर्थशास्त्रीहरूको मत छ।  किफायती तरीकाले वस्तुको उपभोग गर्नुको अर्थ वातावरण संरक्षण गर्ने, उत्सर्जन घटाउने र उत्पादित वस्तुको अधिकतम उपयोग गर्ने यसको लक्ष्य हुन्छ।

सुरुवातको बुद्धको किफायती उपभोग र आधुनिक अर्थशास्त्रको चक्रीय अर्थतन्त्र एकै हुन्। दुवैले उत्पादित भइसकेको वस्तु अधिकतम उपभोग गर्न सुझाउँछन्।

सम्यक् आजीविका मूल सूत्र 

‘बुद्ध शान्तिका दूत हुन्।’ चाहे राजनीतिज्ञ हुन् या विद्वान वर्ग बुद्ध शान्तिका पर्याय थिए भन्ने भनाई मान्छन्  तर बौद्धमार्गीहरूले भने बुद्धलाई शान्तिका दूतका रूपमा मात्रै हेर्दैनन्। बुद्धलाई एक मात्र दृष्टिकोणबाट हेर्नु उनीमाथि अन्याय हुन जान्छ, किनभने  बुद्धका अष्टाङ्गमार्गले जीवनको समग्र पक्षको व्याख्या गरेको छ। 

लेखक उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’ पुस्तक अनुसार बुद्धका अष्टाङ्गमार्गमा पहिलोमा छ सम्यक् दृष्टि,  जसले जीवन  र जगतको यथार्थ स्वभाव तथा दुःख र यसबाट निवृत्तिका विषयमा सही दृष्टिकोण प्रदान गर्छ। 

दोस्रोमा  सम्यक् सङ्कल्प, यसको अर्थ  निष्काम, अहिंसायुक्त तथा द्वेष रहित विचार हो। तेस्रो सम्यक् वचन  रहेको छ,  जसको अर्थ कठोर कर्कश वाणी नबोल्नु चुक्ली नलगाउनु, व्यर्थका कुरा नबोल्नु भन्ने अर्थ रहेको हुन्छ। चौथोमा  सम्यक् कर्म, व्यक्तिले प्राणी हिंसा, चोरी, झुटो बचन,र मिथ्याकामाचरण नगर्नु भनी उल्लेख छ।  

त्यस्तै पाँचौँमा रहेको छ, सम्यक् आजीविका, यसको अर्थ अरूलाई हानी नपुग्ने कामबाट जीविकोपार्जन गर्नु हो।  छैटौँमा सम्यक् प्रयत्न हो।  यसको अर्थ आफू भित्र दुर्गुण हटाउन, नभएको दुर्गुण प्रवेश हुन नदिन, भएका सद्गुणका संरक्षण गर्न र भएको सद्गुण आफूमा ल्याउन निरन्तर प्रयत्नशील रहनु भन्ने बुझिन्छ। 

सातौँमा  सम्यक् स्मृति छ,   जसले शरीर र चित्तको अवस्थाप्रति सधैँ जागरूक रहनु भन्ने अर्थ लगाउँछ भने  आठौँमा  सम्यक् समाधि छ जसको अर्थ मनको सम्यक् एकाग्रता हासिल गर्नु भन्ने बुझिन्छ। 

बुद्धका अष्टाङ्ग मार्गबाटै के प्रस्ट हुन्छ भने दोस्रो मार्गमा रहेको सम्यक् सङ्कल्पलाई जसले अहिंसा गर्न हुँदैन भन्छ यही मार्ग समातेर बुद्धलाई शान्तिका दूतका रूपमा अर्थाएको पाइन्छ। दोस्रो मार्ग त चर्चित भयो तर अन्य मार्गबारे बुद्धले के भनेका हुन् भन्नेबारे त्यति धेरै विवेचना भएन। तर हाम्रो जस्तो सानो अर्थतन्त्र  र जलवायु परिवर्तनले असर पार्ने देशमा अन्य मार्गको पनि उत्तिकै महत्त्व छ। 

यस लेखमा हामी बुद्धका अष्टाङ्गमार्ग मध्ये पाँचौँ मार्गमा रहेको ‘सम्यक् आजीविका’ अर्थात् अरूलाई  हानी नपुग्ने कामबाट जीविकोपार्जन गर्नु भन्ने मार्गलाई व्याख्या गर्ने छौँ। 

अर्थशास्त्रीहरूले यही मार्गलाई आधार मानेर बौद्ध अर्थशास्त्र र अर्थतन्त्रको बहस गरेको पनि  ५ दशक बढी भइसकेको छ।  बेलायतका अर्थशास्त्री इएफ स्कुमेकरले सन् १९६६ मा ‘बुद्धिस्ट इकोनोमिक्स’ नामक जर्नल लेख लेखेर बौद्ध अर्थशास्त्रबारे बहस प्रारम्भ गरेका थिए। 

उनले आधुनिक अर्थशास्त्र र बौद्ध अर्थशाष्त्रबारे बहस सुरु गरेपछि अर्थशाष्त्रीहरूबीच पक्ष विपक्षमा  छलफल भए। त्यसपछि सन् १९७३ मा स्कुमेकरले बौद्ध दर्शनबाट प्रभावित भएर ‘स्मल इज ब्युटीफूल’ नामक पुस्तक लेखे। त्यसपछि यो किताबको चर्चा सीमित अर्थशाष्त्रीहरूबीच मात्रै रहेन।

यस किताब मार्फत संसारमा अर्थशाष्त्रबारे वैकल्पिक तरीकाले छलफल हुन थाल्यो। राजनीतिज्ञ तथा अन्य क्षेत्रका विज्ञले पनि अर्थशास्त्रलाई फरक तरीकाले बहस गर्न थाले।  नेपालकै पूर्व प्रधानमन्त्री समेत रहेका वीपी कोइरालाले समेत स्कुमेकरको ‘स्मल इज ब्युटीफूल’ पुस्तकबाट प्रभावित भएको आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। 

सन् १९५५ मा स्कुमेकर बर्मा (हालको म्यानमार) आर्थिक सल्लाहकारका रूपमा पुगे। त्यहीँ रहँदा उनले “बौद्ध अर्थशास्त्र” बारे अध्ययन गरे। उनले स्थानीय स्रोतबाट स्थानीय आवश्यकता पूरा गर्नु नै आर्थिक जीवनको सबैभन्दा उत्तम तरिका रहेको बताए।  त्यसपछि उनले तेस्रो विश्वका देशहरूको भ्रमण गर्दै आत्मनिर्भर अर्थतन्त्र कसरी निर्माण गर्ने भन्ने उपायमा केन्द्रित रहेर प्रवचन दिन थाले। 

उनले आधुनिक अर्थशास्त्रले मानवलाई  केन्द्रमा राख्दै उत्पादन र मुनाफालाई महत्त्व दिँदा समाज स्वार्थी हुन सक्ने बताएका थिए। उनका अनुसार समृद्धि भनेकै न्यूनतम स्रोत र साधन उपयोग गरेर अधिकतम कल्याण ल्याउने हुनुपर्नेमा जोड दिएका थिए।

फैलियो बहस 

क्यालिफोर्निया विश्वविद्यालयकी अर्थशास्त्री क्लेयर ब्राउन र हंगेरीका दार्शनिक लास्जलो जोलनाईले लेखेको जर्नल लेख समेत प्रकाशित भयो। ‘बुद्धिस्ट इकोनोमिक्स एन ओभरभ्यू २०१८’मा  उनीहरूले पश्चिमी अर्थशास्त्रले मानवलाई मात्रै केन्द्रमा राखेर अर्थशास्त्रको मूल्यमान्यता बनाएको बताए। 

पश्चिमा अर्थशास्त्रमा  मानवजाति सचेत प्राणी रहेको, स्रोत र साधन सीमित रहेको, अधिकतम मुनाफा आर्जन गर्न चाहने, स्रोतहरू दुर्लभ रहेको, मानवीय चाहना असीमित हुने, तथ्य र तथ्यांकमा आधारित आर्थिक वृद्धिदर, व्यक्तिगत स्वतन्त्रता, पूर्ण प्रतिस्पर्धात्मक बजार र वातावरणलाई स्रोत र साधनको रूपमा अत्याधिक प्रयोग गरी लाभ हासिल गर्ने प्राणी रहेकाले सोही अनुसार अर्थशास्त्रले काम गर्नु पर्ने  लगायतका मान्यता रहेका छन्।

यता बौद्ध अर्थशास्त्रले भने मानव र पृथ्वीबीच अन्तर्निहित सम्बन्ध रहेको बताउने उनीहरूले दाबी गरेका छन्। कुनै पनि व्यक्ति र वा जीव जीवित रहनुमा एक व्यक्ति र अन्य व्यक्तिबीच अन्तरसम्बन्ध त रहन्छ नै प्रकृति र मानव जातिबीच गहिरो सम्बन्ध रहने बौद्ध अर्थशास्त्रको  पहिलो तर्क छ।

त्यस्तै दोस्रो तर्क परोपकारी व्यवहार हो। बौद्ध अर्थशास्त्रले आफू मात्रै उपभोग गर्ने अझ चाहिने भन्दा बढी सम्पत्ति थुपार्नेलाई उपयुक्त ठान्दैन। बचतलाई उपयुक्त ठाने पनि अनावश्यक सङ्ग्रह गर्नु भन्दा अन्यको उपकारका लागि दान दिनु उपयुक्त ठान्छ । उदाहरणका लागि  बौद्ध अर्थशास्त्रले कम्पनीले कामदार, ग्राहक, शेयरधनी र समुदायको भलाइमा ध्यान त  दिन्छन्, र सबै आर्थिक गतिविधिबाट वातावरणको अत्याधिक हानी गर्न हुँदैन भन्ने मान्छ। 

तेस्रो तर्क छ, बौद्ध अर्थशास्त्रले साझा समृद्धि, दिगो जीवन र न्यूनतम साधनले अधिकतम सुख हासिल गर्न प्रेरित गर्छ। नाफा होइन, सन्तुलित र उत्तरदायी विकास नै अर्थतन्त्र आधार स्तम्भ हुन्। 

आधारभूत मूल्यमान्यता के- के हुन् 

बिहानको ‘खाना’। झट्ट हेर्दा जसले खाँदै छ उनै त्यस खानेकुराको हकदार हो तर उत्पादन प्रक्रिया सम्झने हो भने एक व्यक्ति पूर्ण अन्तरनिर्भर रहन्छ कसरी त? अर्थशास्त्रीद्रयले उदाहरण दिँदै भनेका छन् ‘दाल भात र तरकारी नै खाँदा पनि चामल-तरकारी उत्पादन गर्ने किसान हुन्। त्यसलाई बजारसम्म ल्याउने बिक्रेता  अनि बजारमा बसेर बेचिदिने व्यापारी हुन्छन्। त्यसलाई भान्सामा ल्याएर पकाउने अनि पकाउँदा चाहिने भाँडाकुँडा देखि मरमसला र आगोसम्म फरक फरक व्यक्तिले काम गरेका हुन्छन्।

किसान,बजार, भान्से, उपभोक्ताको अन्तर्निहित सम्बन्ध रहेको यही उदाहरणबाट प्रस्ट हुन्छ। त्यसकारण बुद्ध भन्छन् व्यक्ति-व्यक्तिहरूबीच पनि अन्तरसम्बन्ध हुन्छ। जीविकाको सवालमा पूर्ण ‘स्वतन्त्र’ हुन सकिँदैन।’व्यक्ति एक अर्काबीच अन्तरनिर्भर हुन्छन्।

के मान्छे-मान्छेबीच मात्रै अन्तरसम्बन्ध र अन्तरनिर्भरता रहन्छ त! होइन। उनीहरूका अनुसार मानिस, समाज र पृथ्वीबीच अन्तरसम्बन्ध रहेको हुन्छ। समृद्धि हासिल गर्ने पृथ्वीमा भएका स्रोतहरू जल, जंगल, जमिन, खानी लगायतका उपयोग गरेर हो।

पृथ्वीमा मान्छे मात्रैको अस्तित्व छैन। यहाँ हजारौँ जिवाणी देखि वनस्पतिको अस्तित्व छ। त्यसकारण ती सबै प्राणी तथा वनस्पतिको अस्तित्व नामेट हुन दिनुहुँदैन। किनभने ‘इकोसिस्टम’ बिग्रियो भने मानवजातिलाई नै हानी हुन्छ।  

इकोसिस्टम (पारिस्थितिक प्रणाली) बिग्रियो भने के हुन्छ?

बौद्ध अर्थशास्त्रले भन्छ, कुनै पनि आर्थिक क्रियाकलाप गर्दा जीव वा प्रकृतिलाई नोक्सान पुर्याउनु हुँदैन। प्रकृतिलाई अत्याधिक दोहन गरेर नम्बरमा आर्थिक वृद्धिदरका लागि काम गर्ने भन्दा पनि जीवन सहजका लागि जीविकोपार्जन गर्नु पर्छ। 

कसरी सम्भव छ त यो ?

बौद्ध अर्थशास्त्रले भन्छ, न्यूनतम चाहनासँग अधिकतम सन्तुष्टि सम्भव छ। आधुनिक अर्थशास्त्रले मान्छेमा अधिकतम चाहना हुन्छ तर स्रोत र साधन सीमित हुने हुँदा छनौट गरेर मान्छेले आफ्नो चाहना पूरा गर्नु पर्ने मान्यता राख्छ। तर बौद्ध अर्थशास्त्रले अधिकतम चाहना नराख्न सुझाएको छ। आवश्यकता अनुसार मात्रै वस्तु उपभोग गर्न सुझाएको छ। आवश्यक मात्रै वस्तु उपभोग गर्दा सीमित स्रोतले पुग्ने उसको तर्क छ। 

के सबै गरिबीबाट मुक्त हुन्छन् त?

बौद्ध अर्थशास्त्रले भन्छ,  साझा समृद्धि, सम्पत्ति सीमित व्यक्तिको हातमा होइन सबैको कल्याणको लागि हुनु पर्छ। बौद्ध अर्थशास्त्रले व्यक्तिलाई उपभोक्ता मात्रै होइन सचेत प्राणीको रूपमा समेत हेर्छ। सुख धनले होइन मानवीय सम्बन्ध र करुणाले तय गर्ने बताउँछ। 

आधुनिक अर्थशास्त्र अनुसार माथिका मूल्यमान्यताहरू सूक्ष्म अर्थशास्त्रमा केन्द्रित भएको देखिन्छ। बुद्धले वृहत् अर्थशास्त्र अर्थात् राष्ट्रकै अर्थतन्त्र कस्तो हुने भन्नेबारे पनि बोलेको छ।

‘बुद्धकालीन समाज’ मा उमाकान्त पौड्यालले चक्कवति सुत्तबाट लिएको तथ्य अनुसार बुद्धले बुद्धको समय भन्दा पहिले धनी र गरिबबिचको खाडल कम गर्ने विषयमा कुनै पनि काम नभएकाले समाजमा दरिद्रता बढ्दै गएको बताएका थिए। त्यसपछि चोरी जस्ता अपराधहरू बढ्न थालेको, समाजमा चोरी बढेपछि झुटो बोल्ने, हत्याहिंसा परस्पर द्वेष भाव बढ्दै गएको उनको तर्क थियो। बुद्धका अनुसार  त्यसपछि नियम कानुन विकास हुँदै गयो। बुद्धले समाजमा व्याप्त आर्थिक असमानतालाई नै नकारात्मक घटना बढेको ठान्थे। 

के बुद्धले सबै सम्पत्ति साझा हुन्थे भन्थे त ?

होइन। बुद्धले गृहस्थीले आफ्नो सम्पत्तिलाई चार भाग गरेर उपभोग गर्न सुझाउँथे। पहिलो खान लाउन र जीवनयापनका अन्य क्रियाकलापको लागि प्रयोग गर्न तथा दोस्रो र तेस्रो सम्पत्ति आफूले गरी आएको व्यापार व्यवसायमा लगानी गर्न सुझाव दिन्थे। चौथो सधैँ एकै अवस्था नहुने भएकाले भविष्यको लागि जोगाउन भन्थे। यसको अर्थ बुद्धले उपभोग,लगानी  र बचत हुनुपर्ने बताउँथे।

त्यति मात्रै हैन बुद्धले आम्दानीभन्दा उच्चस्तरको जीवनशैली अपनाउने र अत्याधिक लोभ देखाई सम्पत्ति साँच्ने दुवै थरीलाई कुशल व्यवस्थापक नभएको बताउँथे। आम्दानी अनुसारको जीवनयापन गर्ने र धन आर्जन गर्नेले नभएकालाई दान दिन जागरूक, उचित समयमा उचित कार्य गर्ने, निरन्तर प्रयत्नशील र धैर्यवान् व्यक्तिले धन आर्जन गर्न सक्ने बुद्धको भनाई सुत्तनिपात ,आलवकसुत्तमा उल्लेख छ। 

राज्यको आम्दानीको रूपमा कर रहेको  बुद्धको भनाइ थियो। कर उठाएर राज्य सञ्चालकले बिलासी जीवन बिताएकोमा त्यतिबेला पनि विरोध हुन्थ्यो। राज्य सञ्चालनका निम्ति कर आवश्यक पर्ने र कर तिर्नु जनताको दायित्व त हुँदै हो राजाले गरिबका लागि त्यो रकम खर्च गर्नु पर्ने समेत नियम थियो।  

दिगो विकास अवधारणाको ‘जन्मदाता’ बुद्ध 

बुद्धले जीविका चलाउँदा पृथ्वीसँगको अन्तरनिर्भरताबारे सधैँ बुझाउन प्रयत्नशील रहन सुझाएँ। उनले पृथ्वीमा रहेका अन्य जीवजन्तु वनस्पतिको समेत संरक्षण हुनु पर्ने र स्रोत र साधन उपयोग गर्दा अरूलाई हानी हुन हुन्न भन्ने कुरामा जोड दिए। २५ सय वर्ष अघि नै बुद्धले पृथ्वीसँगको अन्तरनिर्भरताबारे बोलेका थिए।  

दिगो विकासको इतिहासलाई हेर्ने हो भने यसको जरा औद्योगिक युग अघि नै, दीर्घकालीन स्रोत व्यवस्थापनका परिकल्पनासँग जोडिएको पाइन्छ। तर आधुनिक अर्थमा यसको गति सन् १९८७ को ब्रन्टल्यान्ड प्रतिवेदनपछि तीव्र भयो। त्यस प्रतिवेदनले दिगो विकासलाई परिभाषित गर्दै भन्यो-वर्तमान पुस्ताको आवश्यकता पूरा गर्नेतर भविष्यका पुस्ताले आफ्नो आवश्यकता पूरा गर्ने क्षमतालाई हानि नपुर्याउने विकास।

दिगो विकासको यात्रामा केही निर्णायक मोडहरू रहेका छन्। सन् १९७२ को संयुक्त राष्ट्रसङ्घीय मानव वातावरण सम्मेलनले वातावरणीय चेतना फैलायो। त्यसपछि सन् १९९२ को रियो अर्थ समिट ले ‘रियो घोषणापत्र’ ल्यायो र दिगो विकासका तीन आधारस्तम्भ-आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई स्पष्ट रूपमा परिभाषित गर्यो।

त्यसपछि सन् २०१५ मा संयुक्त राष्ट्रसङ्घले दिगो विकास लक्ष्यहरू घोषणा गर्दै यो अवधारणालाई विश्वव्यापी नीतिगत ढाँचाको रूपमा स्थापित गर्यो। यी सबै घटनाहरूले मिलेर आजको दिगो विकासको धारणा निर्माण गरेका हुन्-जहाँ विकासलाई मात्र होइन, भविष्यलाई पनि सँगसँगै सोच्नुपर्ने भनाइ केन्द्रमा छ।

सन् २०१५ देखि कार्यान्वयनमा आएको दिगो विकासले मात्रै आर्थिक र सामाजिक पाटो मात्रै नहेरी वातावरणीय पक्षलाई समेत हेर्नु पर्ने बतायो। तर बुद्धले भने पहिले नै यसबारे बोलेका थिए। 

बौद्ध अर्थशास्त्रले मानिस र प्रकृतिको अन्तरसम्बन्धलाई स्विकार्छ। त्यसको लक्ष्य हो साझा समृद्धि र न्यूनतम दु;ख सहितको दिगो संसार निर्माण गर्नु। क्लेयर ब्राउन र जोलाइनका अनुसार सम्पन्न देशहरूले अपनाएका नीतिहरूका कारण नै पृथ्वीको सन्तुलन बिग्रनुका प्रमुख कारण हुन्।

अत्याधिक उत्पादन, अत्याधिक उपभोग र असमान वितरण अहिलेका समस्या हुन्। बौद्ध अर्थशास्त्रले आवश्यकता ख्याल गरेर उत्पादन गर्ने र अत्याधिक उपभोग नगर्ने अनि वितरण पनि समतामूलक राख्नमा जोड दिन्छ।

जलवायु परिवर्तनबारे बौद्ध अर्थशास्त्र स्पष्ट छ, अहिंसा मानवीय व्यवहारमा मात्रै होइन ऊर्जा नितिमा समेत हुनु पर्छ। यसको आधुनिक अर्थ  दुई अर्थशास्त्रीले व्याख्या गरेका छन्। कार्बन उत्सर्जन घटाउने, समुदायलाई प्रकृति विपद्को सामना गर्न सक्ने बनाउने  अति उपभोग घटाउने अनि जनसङ्ख्यालाई सन्तुलनमा राख्ने।

उनीहरूका अनुसार बौद्ध दृष्टिकोणले जसले धेरै कमाएको छ उसले दान दिनुपर्छ। यसको आधुनिक अर्थ सम्पन्न देशहरूलाई नवीकरणीय ऊर्जा, प्रविधि र वित्तीय सहयोग मार्फत गरिब देशलाई दिगो विकासमा सघाउने नैतिक दायित्व हुनेका रूपमा अर्थाएका छन्। 

बौद्ध  अर्थनीति मध्यमार्गी क्रान्ति हुन सक्छ !

अहिले विश्वका ठूला देशहरू अमेरिका, चिन, भारत, जापान, रुस जस्ता देशहरू अथाह उत्पादन गर्ने, अथाह उपभोग गर्ने, ऊर्जाका स्रोतहरूको दोहन गर्ने, अत्याधिक सञ्चय गर्ने दौडमा छन्। भने अर्को तिर गरिब देशमा न्यूनतम आधारभूत आवश्यकता समेत पूरा गर्न नसक्ने अवस्थामा छन्। भोकमरीले ज्यान जाने, न्यूनतम स्वास्थ्य सुविधा नपाउने शिक्षा समेत नपाउने अवस्था छ।  विश्वव्यापी यो समस्या त छँदै छ नै, देश भित्रै पनि अत्याधिक धनी र स्वार्थी व्यवसायीहरू छन्। 

क्लेयर ब्राउन र जोलाइनका अनुसार व्यवसायहरू बौद्ध मूल्य मान्यता अँगालेर मानव केन्द्रित उद्यम बन्न सक्छन्। मुनाफा,सामाजिक योगदान र वातावरणीय जिम्मेवारी समेत बहन गर्नु पर्ने बताएका छन्।

उनीहरूका अनुसार बौद्ध अर्थशास्त्रले नयाँ आधुनिक अर्थशास्त्रलाई  नयाँ तरीकाले व्याख्या गर्ने बताउँछन्। अब असीमित वृद्धि होइन अर्थपूर्ण अस्तित्व नै अन्तिम लक्ष्य हो। उनीहरूका अनुसार व्यक्तिगत रूपमा पनि मानिसले आफ्नो जीवनशैली परिवर्तन गर्न सक्छ जसमा अत्याधिक ऊर्जा खपत हुने सवारीसाधन कम गर्दै लैजाने,मासु कम खाने, समुदायसँग सम्बन्ध बलियो बनाउने अनि सामूहिक करुणा र सचेतनाले पृथ्वीको सन्तुलन फिर्ता ल्याउनु हो।

अर्थशास्त्रका आधार स्तम्भ  करुणा , न्याय र दिगोपना हुन जरुरी छ। जहाँ मानव समाज र पृथ्वी एकै सन्तुलनमा बाच्न सक्छन्। उनीहरूका अनुसार बौद्ध अर्थशास्त्र मध्यमार्गी आर्थिक  क्रान्ति हो। 

वैशाख १८, २०८३ शुक्रबार ०९:२९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।