देशभर ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु : ६ देखि ५९ महिनाका बालबालिकाको पोषण जाँच गरिँदै
काठमाडौं : कुपोषणको समस्यालाई समयमै पहिचान गरी निर्मूल पार्ने उद्देश्यले सरकारले देशभर ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले ‘समयमै पहिचान, सही उपचार – कुपोषण मुक्त पुस्ताको आधार’ भन्ने मूल नाराका साथ वैशाख १५ गतेदेखि यो अभियान सञ्चालनमा ल्याएको हो।
देशका सबै ७५३ वटै स्थानीय तहमा लागू भएको यो अभियान आगामी वैशाख ३० गतेसम्म चल्नेछ।
अभियानको मुख्य लक्षित समूह ६ महिनादेखि ५९ महिना (५ वर्षमुनि) का बालबालिकाहरू रहेका छन्। यस अभियानअन्तर्गत बालबालिकामा हुने शीघ्र कुपोषणको पहिचान गरी उनीहरूलाई आवश्यक उपचार सेवा सुनिश्चित गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ।
कहाँ र कसरी हुन्छ जाँच?
पोषणको लेखाजोखा स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा गरिनेछ।
बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन उनीहरूको उचाइ र तौलको मापन गरिनेछ। यसका लागि ‘टु इन वान’ डिजिटल तौल मेसिन, उचाइ/लम्बाइ मापन बोर्ड र पाखुराको नाप लिन ‘मुवाक टेप’ को प्रयोग गरिनेछ।
विभागका अनुसार अभियानबाट प्राप्त तथ्याङ्कलाई व्यवस्थित र प्रभावकारी बनाउन यसपटक प्रविधिको प्रयोग गरिएको छ।
देशभरबाट सङ्कलन हुने पोषण लेखाजोखाको विवरण ‘कोबो’ नामक मोबाइल एपमार्फत राखिनेछ। इन्टरनेट नभएका स्थानमा पनि काम गर्न मिल्ने गरी यो एपलाई ‘अफलाइन मोड’मा प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।
यस अभियानबाट प्राप्त तथ्याङ्कले स्थानीय, जिल्ला र प्रदेश स्तरमा कुपोषणको वास्तविक अवस्था (उच्च, मध्यम र न्यून जोखिम) को वर्गीकरण गर्न मद्दत पुग्नेछ।
यसैका आधारमा आगामी दिनमा सरकारलाई लक्षित पोषण कार्यक्रम तय गर्न र नीति निर्माण गर्न सहज हुने विश्वास लिइएको छ।
कार्यक्रमलाई प्रभावकारी बनाउन प्रत्येक स्वास्थ्य संस्थाले सूक्ष्म योजना बनाएर काम गरिरहेका छन् भने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू र स्थानीय सञ्चारमाध्यममार्फत गाउँ-टोलमा जनचेतना जगाउने काम भइरहेको छ।
स्वास्थ्य सेवा विभागले कुपोषण मुक्त पुस्ता निर्माण गर्ने साझा प्रयासमा साथ दिन सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेविका र सरोकारवालाहरूलाई आग्रह गरेको छ।
साथै, वैशाख १५ देखि ३० गतेभित्र आफ्नो समुदाय वा टोलमा आउने स्वास्थ्यकर्मीहरूबाट आफ्ना बालबालिकाको पोषण जाँच अनिवार्य रूपमा गराउन सम्पूर्ण अभिभावकहरूलाई विशेष अनुरोध समेत गरेको छ।
वैशाख १६, २०८३ बुधबार १०:३८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।