लेबनानको कमाइले बनाएको घर भत्काइएपछि रङ्गशाला पुगेकी कमलालाई छोरीको सोधिन्- ‘ममी, यहाँ चैँ डोजर आउँदैन हो?’
२०८३ वैशाख १२ गते, शनिबार राति सात बजे। भक्तपुर र काठमाडौंको सिमानामा रहेको मनहरा पुलको किनार। किनारको पुछारमा रहेको अन्तिम बस्ती- तामाङ बस्ती।
आठ वर्षीया सानी छोरी कमला योन्जनको काखमा बेस्सरी टाँसिन पुगिन्। उनले पनि आफ्नी छोरीलाई बेस्सरी अँगालिन्।
त्यस रात उनले जसोतसो मध्यरातमा छोरीलाई सुताइन्। आफूले पनि सुत्ने कोसिस गरिन्। तर, बिहानै बस्तीमा सशस्त्र प्रहरीको ओइरो लागेपछि उनी बिउँझिइन्। आइतबार उनकी छोरीले उनलाई च्याप्पै समातेकै थिइन्। वल्लोघर पल्लोघरबाट भने बल्ल सामान सार्ने तयारी गर्न थालेको उनले देखिन्।
आफूसँगैको घरमा प्रहरी आफैँले भित्रबाट सामानहरू बाहिर निकालेको देखेपछि उनी आत्तिइन्। उनी पनि सकिनसकी छोरीलाई समात्दै आफ्नो सामान बिस्तारै घरबाहिर निकाल्न सक्रिय भइन्। तीन महिनाअघि मात्र भाँचिएको उनको देब्रे हातको स्टिल अझै पनि उनलाई बिझ्ने गर्छ। उनी शारीरिक रूपमा समेत अशक्त छिन्।

‘हाम्रो टोलमा कोही पनि डरले सुतेकै थिएन। पछि डोजर जडिबुटीको पुलमा आइपुग्यो भनेपछि सामान बाहिर निकाल्न सुरु गरेको। सामान लिन आउने गाडी ओहोरदोहोर गर्दा पनि मेरी छोरी ‘डोजर आयो ममी’ भनेर डराएकी थिई’, रुँदै उनले उकेरालाई सुनाइन्।
‘बस्तीमा डोजर आएपछि कोहीसँग सम्पर्क गर्न पाएनौँ’
शनिबार बिहानैदेखि फैलिएको डोजर आतंक थापाथलीको सुकुम्बासी बस्ती हुँदै शान्तिनगर र त्यसपछि मनहरा पुगेको थियो। मनहरा पुग्दा केही झडप भएपछि त्यत्तिकै छोडे पनि आइतबार बिहान फेरि बस्तीमा हजारौंको सङ्ख्यामा प्रहरी र दर्जनौँ डोजर पुगेका थिए।
आइतबार बिहानैदेखि प्रहरी घरघर छिर्न थालेपछि बस्तीको बिजुलीदेखि अन्य सञ्चारका तारहरूसमेत काटिन थाले। घरको ढोकैमा डोजर देखेपछि त्यसको प्रतिवाद गर्नुभन्दा पनि आत्तिएर आफ्नो सामान बाहिर निकाल्नमै बस्तीका सबैजसो व्यक्ति व्यस्त देखिन्थे।
उकेराकर्मी आइतबार दिउँसो मनहरा क्षेत्र पुग्दा त्यहाँका बासिन्दाहरू झ्याल, ढोका, छानादेखि इँटासम्म उप्काउन व्यस्त देखिन्थे। प्रहरीहरू घरभित्रै छिरेर सामानहरू बाहिर निकाल्नमा व्यस्त देखिन्थे। बस्तीका भित्री टोलहरूमा समेत प्रहरी पुगिसकेको देखिन्थ्यो।
‘मेरो एकजना दाइलाई हाम्रो पनि सामान निकाल्न पर्यो भनेर फोन गरेको, फोन नै लागिरहेको थिएन। किन होला भनेको त पुलिससँगै आएको मान्छेले तार पनि काट्दै हिँडेको रहेछ,’ आँसु पुछ्दै उनले भनिन्, ‘कोही पनि नभएपछि आफैँले जति सक्दो सामान निकालेँ। धेरै सामान त चोरी पनि भइसक्यो।’
जडिबुटीको पुलदेखि मनहरा पुलसम्म करिब आठ सय घरटहरा थिए। सरकारले शनिबार रातिदेखि आइतबार रातिसम्म प्रहरीलाई घरघर पुर्याएर डोजर हानेर सखाप पारिसकेको छ। कमलाजस्ता हजारौं व्यक्ति दुई दिनमा सरकारले घरबारविहीन बनाइसक्यो। तर, ठ्याक्कै यति परिवार विस्थापित भए भनेर सरकारले यकिन तथ्याङ्क राख्न सकेको छैन।

सधैँ बस्तीमा ‘डोजर आउने’ हल्लैहल्ला यसपटक भने त्रासमा परिणत भयो। दुई दिनअघिदेखि ‘सुकुम्बासी बस्ती खाली गर्ने’ भनेर समाचार बजेको बज्यै थियो। शनिबार बिहान पूरै सुरक्षाकर्मीको घेरामा बस्ती सखाप पारेको समाचार पनि आएकै थियो।
‘चार हजार ऋण खोजेर सामान ओसार्ने ट्रक लिएँ’
कमला आफ्नी बूढी सासू र सानी छोरीसँग यस बस्तीमा १५ वर्षदेखि बस्दै आएकी थिइन्। उनीहरूको दुईकोठे घर थियो। सोमबार राति करिब सात बजे उनीहरू बल्ल रङ्गशालामा आइपुगेका थिए। उनकी छोरी उनको पछि-पछि डुल्दै थिइन्। उनी भने रोएर पूरै आँखा सुन्निएको अवस्थामा।
छोरी कतिमा पढ्छिन् भनेर सोध्नेबित्तिकै उनी भक्कानिइन्। बस्तीकै स्कुलमा उनकी छोरीले चैतमा चार कक्षा पास गरेकी थिइन्। यसपालि पाँच कक्षामा भर्ना गर्ने भनेर निकै खुसी भएकी छोरीको स्कुलमा समेत डोजर चलिसकेको छ।
सोमबार बिहान मात्र उनको घरमा डोजर हानिएको रहेछ। सामान अघिल्लै साँझ निकालिसकेपछि उनीहरू जडिबुटीमा रहेको आफन्तको बास माग्न पुगेका रहेछन्। बिहान फेरि आफ्नो सामान भएकै ठाउँमा पुगेकी उनले आफ्नो घर भत्काएको हेर्न सकिनन्।
दिनभरि आफ्नो सामान बटुल्ने, नगरप्रहरीदेखि नेपाल प्रहरीसम्म सामान उठाउनका लागि गुहार पनि नमागिएको होइन। तर आफूलाई बेवास्ता गरिएको उनी बताउँछिन्। पछि फोन लाग्ने भइसकेपछि उनले आफन्त दाइलाई चार हजार रुपैयाँ सापटी मागेर सामान सार्नका लागि ट्रक बोलाएकी रहिछन्।
तिनै ट्रक चालकले नै उनको सामान रङ्गशालामा तल मिलाइदिराखेको देखिन्थ्यो। उनी भने कुन-कुन सामान आइपुग्यो भनेर आँसु पुछ्न खोज्दै यताउति हेरिरहेकी थिइन्।

‘यता आइसकेपछि पनि मेरी छोरीले ममी यहाँ चैँ डोजर आउँदैन हो? भनेर सोध्दै थिई। उनलाई डोजर भन्नेबित्तिकै डर लाग्ने भएछ। प्रहरी नजिक आउँदा पनि निकै डराएकी छे। ऊ निकै डराउने भएकी छे’, उनले भनिन्।
१० वर्षको लेबनानको कमाइमा डोजर चल्यो !
‘मैले १० वर्ष लेबनानमा काम गरेको पैसाबाट सानो घर बनाएकी थिएँ। सानो भए पनि भाडा तिर्न पर्दैनथ्यो। मैले त्यो घर भत्किएको हेर्न सकिनँ,’ उनी भक्कानिइन्, ‘मेरो घर भत्किएको होइन। मेरो छोराछोरीको भविष्य र मेरो आफ्नै जीवनभरको कमाइमा डोजर चल्यो।’
दूधे बालक छोडेर वैदेशिक रोजगारीको सिलसिलामा लेबनान पुगेकी उनी १० वर्षअघि नेपाल फर्किएकी थिइन्। त्यहाँ सरसफाइको काम गरेर उनले त्यसबखत नेपाली १५ हजार रुपैयाँ कमाउने गरेको सुनाइन्। मनहरा किनारको पुछारमा २० वर्षदेखि सानो टहरामा बस्न थालेकी उनले विदेशबाट ल्याएको तीन लाख रुपैयाँ त्यही घर निर्माणमा लगाइन्।
तर, एक दशक पुग्दानपुग्दै उनको ती सबै मिहिनेतमा डोजर चल्यो।
वैदेशिक रोजगारीबाट फर्किएपछि बस्तीमै भएको स्कुलमा प्रारम्भिक कक्षामा पढाउने काम गरेर बस्न थालेकी थिइन्। सात महिनाको गर्भवती भएको समयमा पढाउने काम गरेकी उनले छोरीको जन्म भएसँगै काम छोड्नुपर्यो। पछि जडिबुटीमा सानो चिया पसलमा काम गर्दै आएकी थिइन्।
तीन लाख रुपैयाँ ऋण खोजेर श्रीमान्लाई साउदी अरेबिया पठाएकी उनका श्रीमान् परिवारको सम्पर्कमा छैनन्। कुलतमा फसेको आफ्नो श्रीमान्लाई विदेश पठाउनका लागि लिएको ऋण उनले अहिलेसम्म तिर्न नसकेको पनि बताइन्। १७ वर्षका उनका छोरा पनि १२ कक्षा पास गरिसकेपछि काम गर्ने भनेर चीन गएका रहेछन्।

‘सबै म आफैँले एक्लैले गर्ने हो। जसोतसो अरूको सहयोग पाएर भए पनि बच्चाहरू पढाइरहेकी थिएँ,’ उनी भन्छिन्, ‘बच्चाहरूको जन्मदिनमा केक आउँछ भनेर सहकारीमा सय-सय रुपैयाँ जम्मा पारेकी थिएँ। दुवै जनाको गरेर ३३ हजार जम्मा भएको थियो। सहकारी पनि भागेछ।’
उनीसँग कुरा गर्दागर्दै केही प्रहरी आएर उनलाई ‘लज’मा लगिने भन्दै तयार हुन भन्न थाले। प्रहरी नजिक आउनेबित्तिकै उनकी छोरी उनी नजिक आएर बस्न थालेको देखिन्थ्यो। अब के हुन्छ? कहाँ जाने? छोरालाई कसरी भेट्ने? दुवै सन्तानलाई कसरी पढाउने? कहाँ बस्ने? लगायतका अनगिन्ती प्रश्नको जवाफ उनीसँग छैन।
उनीसँग कुरा गरुन्जेल उनको आँखाबाट आँसु आएको आयै थियो। उनकी छोरी नजिक आएर घरि काखमा बस्न खोज्थिन्। घरि आफ्नो आमाको आँसु पुछ्न खोज्थिन्। उनी आफ्नो छोरी र बूढी सासूलाई लिएर बसमा चढिन्।

प्रहरीले बसमै उनको नाम टिप्दै नागरिकता हेरे। बस रङ्गशालाबाट बसपार्कको लागि हिँड्यो।
वैशाख १५, २०८३ मंगलबार ०९:४५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।