सरकारको दुई दिने बिदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल लागू नहुने, आइतबार पनि अस्पताल खुला रहने
दाङ : सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरे पनि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने आइतबार पनि आफ्ना सम्पूर्ण स्वास्थ्य सेवाहरू सुचारु राख्ने भएको छ।
दुर्गम क्षेत्रका बिरामीहरूको मर्का र स्वास्थ्य सेवा पाउने अधिकारलाई मध्यनजर गर्दै प्रतिष्ठानले तत्कालका लागि आइतबारको बिदा लागू नगर्ने निर्णय गरेको हो।
प्रतिष्ठानका कायममुकायम उपकुलपति तथा रजिष्ट्रार प्रा. श्याम लम्सालद्वारा जारी सूचनाअनुसार, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङलगायत रोल्पा, रुकुम, सल्यान, प्यूठानजस्ता दुर्गम जिल्लाका बिरामीहरूलाई विशेषज्ञ सेवा दिइरहेको छ।
बिदाका दिन अस्पतालका सेवाहरू बन्द हुँदा बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने र यसले सर्वसाधारणलाई भौगोलिक तथा आर्थिक रूपमा ठूलो मार पर्ने निष्कर्ष निकाल्दै प्रतिष्ठानले आइतबार पनि सेवा सुचारु राख्ने जनाएको छ।
बिदा र पारिश्रमिकबारे परिषद्ले निर्णय गर्ने
सरकारको निर्णयअनुसार सातामा दुई दिन बिदा दिने वा नदिने, बिदा दिए कसरी दिने र बिदाको दिन काम गर्ने चिकित्सक तथा कर्मचारीलाई कुन स्रोतबाट अतिरिक्त पारिश्रमिक व्यवस्थापन गर्ने भन्ने विषयमा प्रतिष्ठानको कार्यकारी परिषद्ले छलफल गरिरहेको छ।
परिषद्ले गर्ने निर्णयलाई आगामी 'सिनेट' बैठकबाट अनुमोदन गराएर मात्र लागू गरिने सूचनामा उल्लेख छ। साथै, यस विषयमा समान प्रकृतिका अन्य नन-प्राक्टिसिङ स्वास्थ्य प्रतिष्ठानहरूसँग पनि निरन्तर संवाद र सल्लाह भइरहेको प्रतिष्ठानले स्पष्ट पारेको छ।
प्रतिष्ठानलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन र स्वास्थ्य सेवा प्रभावित नहोस् भन्नका लागि यही वैशाख १३ गते आइतबारका दिन पनि अस्पतालका ओपिडी लगायतका सम्पूर्ण सेवाहरू यथावत् रूपमा सञ्चालन हुने सूचनामा जनाइएको छ।
स्मरण रहोस्, नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै परीक्षणका रूपमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो, जसको कार्यान्वयनलाई लिएर स्वास्थ्य क्षेत्रमा अन्योल देखिएको छ।
वैशाख १४, २०८३ सोमबार १३:२४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।