कार्यालयमा हाजिर नहुने र बिदाबेगर अनुपस्थित ७ सरकारी इन्जिनियर सेवाबाट हटाइए

कार्यालयमा हाजिर नहुने र बिदाबेगर अनुपस्थित ७ सरकारी इन्जिनियर सेवाबाट हटाइए

काठमाडौं : पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा हाजिर नहुने र बिदा स्वीकृत नगराई अनुपस्थित रहने सात जना सरकारी इन्जिनियरलाई सेवाबाट हटाएको छ।

मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयअन्तर्गत पदाधिकार रहेका राजपत्रांकित तृतीय श्रेणीका सात इन्जिनियरलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार गत कात्तिक २० गते (२०८३/०७/२०) को निर्णयानुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहका ती इन्जिनियरहरूलाई कारबाही गरिएको हो।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिमको कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख)(१) अनुसार उनीहरूलाई सेवाबाट हटाइएको सूचनामा उल्लेख छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सेवाबाट हटाइएका इन्जिनियरहरूमध्ये ६ जना कार्यालयमा हाजिर नभएको र एक जना बिदा स्वीकृत नगराई अनुपस्थित रहेको कसुरमा कारबाहीमा परेका हुन्।

कार्यालयमा हाजिर नभएको कसुरमा (दफा ६१(१)(ज) बमोजिम) हटाइएका इन्जिनियरहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेल रहेका छन्।

यस्तै बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कसुरमा (दफा ६१(१)(छ) बमोजिम) हटाइएका इन्जिनियर पदमेन्द्र प्रसाद श्रेष्ठ पनि बर्खास्तीमा परेका छन्।

मन्त्रालयले निर्णयअनुसारको जानकारी सर्वसाधारण तथा सम्बन्धित निकायको जानकारीका लागि सूचना प्रकाशित गरिएको जनाएको छ।

मंसिर २, २०८३ बुधबार १०:०१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।