कोशी र गण्डकीका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं : मुलुकमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उक्त वायुको प्रभावले यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ।
लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली भएको छ। त्यस्तै, तराईका केही स्थानमा तुवाँलो लागेको छ र बाँकी भागको मौसम सफा छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहने भए पनि देशका बाँकी भूभागको मौसम भने सफा रहने महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहनेछ।
बाँकी भागको मौसम मुख्यतया सफा रहने तथा तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
मंसिर २, २०८३ बुधबार ०७:३५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।