‘सरकारी अस्पताल नजिक निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक’

‘सरकारी अस्पताल नजिक निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक’
प्रतीकात्मक तस्बिर

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको ३०० मिटर वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।

सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालय डोटीलाई परिपत्र गर्दै सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा (१) को व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

ऐनमा सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्था परिसरको ३०० मिटर वरिपरि अन्य निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङहोम, प्रयोगशालालगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था छ।

मन्त्रालयले उक्त व्यवस्था कार्यान्वयनका लागि यसअघि नै विसं २०७९ माघ २९ को पत्रमार्फत ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९’ सहित स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको स्मरण गराएको छ।

मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले उक्त पत्र र संलग्न मापदण्डबमोजिम ऐनको दफा २७ हालसम्म कार्यान्वयन नगरेको जनाउँदै पुनः सख्त ताकेता गरेको बताए। मंगलबार मन्त्रीस्तरीय निर्णयअनुसार ऐन तथा मापदण्ड कार्यान्वयनमा कडाइ गर्न स्वास्थ्य निर्देशनालयलाई अनुरोध गरिएको उनले जानकारी दिए।

असोज १३, २०८३ मंगलबार २१:५४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।