भारतको ‘अपरेसन सिन्दुर’ डकुमेन्ट्रीमाथि पाकिस्तानको आपत्ति, सेनाका प्रवक्ताले भने - ‘बलिउड शैलीको असत्य कथा’
एजेन्सी : भारत–पाकिस्तानबीच गत वर्ष भएको सैन्य द्वन्द्वमा आधारित डकुमेन्ट्री सिरिज ‘डिक्लासिफाइड : अपरेसन सिन्दुर’ सार्वजनिक भएपछि त्यसमा समेटिएका विषयवस्तुप्रति पाकिस्तानले असन्तुष्टि जनाएको छ।
डकुमेन्ट्री सार्वजनिक भएपछि पाकिस्तानका सशस्त्र बलका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफले मंगलबार रातिको करिब २ बजे सामाजिक सञ्जाल एक्समार्फत लामो प्रतिक्रिया दिएका छन्।
शरीफले डकुमेन्ट्रीलाई ‘दुःखान्त र हास्य’ अर्थात् ‘ट्रेजेडी एन्ड कमेडी’ को संज्ञा दिएका छन्। उनले डकुमेन्ट्रीमा ‘सूक्ष्मता र गम्भीरता’को अभाव रहेको आरोप लगाए। उनले डकुमेन्ट्रीमा गम्भीरताको अभाव रहेको र स्थापित तथ्यहरूलाई तोडमोड गरी प्रस्तुत गर्न खोजिएको आरोप लगाए।
पाकिस्तानको आपत्ति
अगस्ट १५ मा प्रिमियर भएको डकुमेन्ट्रीमा अपरेशनको अग्रपंक्तिमा खटिएका भारतीय सैन्य अधिकारीहरूसहित भारतीय सेनाको शीर्ष नेतृत्वको सहभागिता समेटिएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको अन्तर्वार्ता पनि डकुमेन्ट्रीमा समावेश छ।
पाकिस्तानी सेनाका प्रवक्ता शरीफले भारतले ‘अपरेसन सिन्दूर’सम्बन्धी वास्तविकता सार्वजनिक नगरेको आरोप लगाउँदै डकुमेन्ट्रीलाई प्रचार सामग्रीका रूपमा प्रस्तुत गरिएको बताए।
उनले भनेका छन्, “भारतले सत्यलाई सार्वजनिक गरेको छैन। उसले सैन्य असफलतालाई सफल अभियानका रूपमा प्रस्तुत गर्न एउटा प्रचार भिडियो तयार गरेको छ।”
उनले भारतीय सामग्री निर्माताहरूले ‘अपरेसन सिन्दूर’बारे अत्यधिक नाटकीय, रंगीन र तथ्यहीन विवरण तयार गरेको आरोप लगाए। वरिष्ठ राजनीतिक तथा सैन्य नेतृत्वलाई समेटेर त्यसलाई डकुमेन्ट्रीका रूपमा प्रस्तुत गरिएको उनको भनाइ छ। शरीफले डकुमेन्ट्रीमा रहेका ‘आधारभूत विरोधाभास’तर्फ पनि संकेत गर्दै घटनाको आफूअनुकूल भाष्य निर्माण गर्ने प्रयास गरिएको दाबी गरे। उनका अनुसार डकुमेन्ट्रीमा प्रस्तुत घटनाक्रममै आधारभूत विरोधाभास छन्, जसले घरेलु दर्शकलाई स्वीकार्य हुने घटनाको संस्करण तयार पार्ने ढिलो प्रयासलाई उजागर गर्छ।
उनले एक्समा लेखेका छन्, “छानिएका अन्तर्वार्ता, भावनात्मक वर्णन र बलिउड शैलीको सिनेमेटिक पुनर्निर्माण प्रयोग गरेर स्थापित तथ्यहरूलाई तोडमोड गर्ने र अपरेसनको परिणामलाई पुनर्लेखन गर्ने प्रयास गरिएको छ। मुख्य कुरा, डकुमेन्ट्रीको विवरणमा आधारभूत विरोधाभासहरू छन्, जसले आन्तरिक रूपमा स्वीकार्य हुने घटनाक्रमको संस्करण तयार पार्ने ढिलो प्रयासलाई पर्दाफास गर्छ।”
शरीफले डकुमेन्ट्रीमा गरिएको सिनेमेटिक पुनर्निर्माणले विमान क्षति, सैन्य हताहती र वास्तविक सैन्य भिडन्तलाई लुकाउन वा परिवर्तन गर्न नसक्ने दाबी गरेका छन्।
शरीफले भनेका छन्, "कुनै पनि सिनेमेटिक पुनर्निर्माणले घटनाको क्रम परिवर्तन गर्न, विमानको क्षतिलाई लुकाउन, सैन्य हताहती ढाकछोप गर्न, वास्तविक सैन्य भिडन्तलाई फेरबदल गर्न वा युद्धमैदानको पराजयलाई आफैंले घोषणा गरेको विजयमा बदल्न सक्दैन।”
गत वर्ष भारतसँग भएको चार दिने द्वन्द्वलाई इस्लामाबादले 'मार्का-ए-हक' (Marka-e-Haq) नाम दिएको थियो। त्यसको सन्दर्भ जोड्दै शरीफले भने, "मार्का-ए-हकको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि भारत कठोर यथार्थ स्वीकार्न अस्वीकार गरिरहेको छ। असफल प्रयासमा हार स्वीकार्नुको सट्टा भारतले इतिहासलाई आफ्नो रोजाइको रंगमा पोत्ने निर्णय गरेको छ।"
गत वर्ष भारतसँग भएको चारदिने द्वन्द्वलाई इस्लामाबादले ‘मार्का–ए–हक’ नाम दिएको थियो। त्यसको सन्दर्भ जोड्दै शरीफले भारतले अझै पनि उक्त द्वन्द्वको वास्तविकता स्वीकार्न नसकेको आरोप लगाए।
उनले भने, “मार्का–ए–हकको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि भारत कठोर यथार्थ स्वीकार्न अस्वीकार गरिरहेको छ। असफल प्रयासमा हार स्वीकार्नुको सट्टा भारतले इतिहासलाई आफ्नो रोजाइको रंगमा पोत्ने निर्णय गरेको छ।”
शरीफले ‘मार्का–ए–हक’बारे पाकिस्तानलाई कुनै बनावटी भाष्य सिर्जना गर्न आवश्यक नरहेको दाबी गरे। उनका अनुसार सैन्य कारबाहीका अभिलेख, युद्धभूमिका प्रमाण, कूटनीतिक संवाद तथा भारतका आफ्नै पछिल्ला अभिव्यक्तिहरूले घटनाको वास्तविकता स्पष्ट पारेको र यी तथ्यहरू अन्तर्राष्ट्रिय समुदायले समेत व्यापक रूपमा स्वीकार गरिसकेको उनको दाबी छ।
"अपरेशनल रेकर्ड, युद्धभूमिको प्रमाण, कूटनीतिक आदानप्रदान र भारतकै पछिल्ला अभिव्यक्तिहरू आफैं बोल्छन् र अन्तर्राष्ट्रिय समुदायले यसलाई व्यापक रूपमा स्वीकार गरिसकेको छ," उनले भने।
वक्तव्यको अन्त्यमा शरीफले पाकिस्तान क्षेत्रीय शान्ति र स्थायित्वका लागि प्रतिबद्ध रहेको बताए। साथै, पाकिस्तानी सशस्त्र बल देशको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राष्ट्रिय हितको रक्षा गर्न पूर्ण रूपमा तयार र सक्षम रहेको उनले बताए।
उनले भने, “पाकिस्तान क्षेत्रीय शान्ति र स्थायित्वप्रति प्रतिबद्ध छ। साथै, पाकिस्तानी सशस्त्र बल देशको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राष्ट्रिय हितको रक्षा गर्न पूर्ण रूपमा तयार र सक्षम छ।”
उनले भविष्यमा हुने कुनै पनि सैन्य दुस्साहसको कडा, निर्णायक र असमानुपातिक जवाफ दिइने चेतावनीसमेत दिए।
“भविष्यमा हुने कुनै पनि सैन्य दुस्साहसको कडा, निर्णायक र अप्रत्याशित जवाफ दिइनेछ। त्यसपछि कुनै पनि सिनेमेटिक झूटले भारतलाई आफ्नो इज्जत जोगाउने ठाउँ दिने छैन,” उनले भने।
अपरेशन सिन्दूरको पृष्ठभूमि
गत वर्ष मे ७ को बिहान भारतले 'अपरेशन सिन्दूर' सुरु गरेको थियो।भारतका अनुसार यो कारबाही अप्रिल २२ मा जम्मु–कश्मीरको बैसरन क्षेत्रमा भएको घातक आतंकवादी हमलाको जवाफमा गरिएको थियो।
'मिनी स्विट्जरल्याण्ड' भनेर चिनिने उक्त घाँसे मैदानमा भएको आक्रमणमा एक नेपाली नागरिकसहित २६ जना पर्यटकको मृत्यु भएको थियो। सन् २०१९ को पुलवामा आक्रमण पछिको यो उपत्यकाकै सबैभन्दा घातक हमला थियो। यसको जिम्मेवारी पाकिस्तानमा आधारित लश्कर-ए-तैयबाको भातृ संगठन 'द रेसिस्टन्स फ्रन्ट' (टीआरएफ) ले लिएको थियो। यो हमला अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको नयाँ दिल्ली भ्रमणकै समयमा भएको थियो।
यही हमलापछि भारतले ‘अपरेसन सिन्दुर’ चलाएको थियो।
भदौ ३, २०८३ बुधबार १४:२१:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।