त्रिपुरेश्वरमा जलेका चालक अर्जुनको शव ११ दिनसम्म 'गायब', छानबिनप्रति परिवारको शंका
काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि ट्राफिक प्रहरीसँगको भनाभनपछि बसमा लागेको आगोमा जलेर मृत्यु भएका अर्जुन दोङ तामाङको शव ११ दिन पुग्दासमेत परिवारले पाउन सकेका छैनन्।
गत असोज ५ गते त्रिपुरेश्वर चोकमा चर्को हर्न बजाएको भनेर कारबाही गर्न खोज्दा चालक अर्जुन र ट्राफिक प्रहरीबीच विवाद भएको थियो। त्यसको केही समयमै बसमा भएको आगलागीमा परेर अर्जुन गम्भीर घाइते भएका थिए।
कीर्तिपुरस्थित बोर्न अस्पतालमा उपचारका क्रममा सोही साँझ उनलाई चिकित्सकले मृत घोषणा गरे पनि हालसम्म परिवारले शव बुझ्न पाएका छैनन्। अर्जुनकी श्रीमती (जेठी) सुशीला दोङ तामाङले उनको शव कहाँ छ भन्ने जानकारी आफूलाई नदिएको बताइन्।
उकेरासँग उनले भनिन्, “हालसम्म शव कहाँ छ, हामीलाई थाहा छैन। सरकारले पनि जानकारी दिएको छैन। भोली १२ दिन हुँदै छ, सरकारले के गरिरहेको भन्ने नै थाहा भएन।”
आगलागीमा शतप्रतिशत शरीर जलेका अर्जुनको असोज ५ गते बेलुका नै अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो। उनको मृत्यु भएको भोली पल्ट करिब दिउसोतिर परिवार अस्पतालको सम्पर्कमा आएको थियो।
अर्जुनले अन्य व्यक्तिको नागरिकता र सवारीचालक अनुमतिपत्र दुरुपयोग गरेका कारण मृत्युलगत्तै प्रहरीले उनको पहिचानसमेत लामा थर भएका व्यक्तिका रूपमा खुलाएको थियो।
यसरी, अरूको परिचय प्रयोग गरेको भेटिएपछि सरकारले अर्जुन मर्नुको कारण र परिचय दुरुपयोग लगायतको विषयमा छानबिन गर्न छानबिन समिति बनाएको थियो। हालसम्म छानबिन समितिले प्रतिवेदन बुझाएको छैन।
जसले गर्दा परिवारका सदस्यलाई छानबिनप्रति आशंका रहेको श्रीमती सुशीला बताउँछिन्, “छानबिन समितिले हामीलाई हिजो भेटेको थियो। के गरिरहेको छ भन्ने नै थाहा छैन।”
अर्जुनले नागरिकतासमेत नबनाएकोले अरूको परिचयबाटै सवारी साधन चलाएका थिए। जसमा उनले दावा तामाङ, दावा लामा, सुनिल तामाङको नाममा रहेको सवारीसाधन अनुमतिपत्र प्रयोग गरेको खुलेको थियो भने दावा लामाको नामबाट उनले बैंक खाता समेत चलाएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।
नागरिकताको विषयमा उकेरासँग इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रताप भोम्जन भन्छन्, “अरूको नामबाट लाइसेन्स चलाएको रहेछ। नागरिकता समेत बनाएको रहेनछ। जन्मदर्ता भने बनेको छ। अब हालसम्म के भइरहेको छ भन्ने परिवारलाई नै थाहा होला, हिजो छानबिन समिति आएको थियो भन्दै थिए।”
परिवारका अनुसार सरकारले हालसम्म शवको अवस्थाबारे जानकारी नदिएको र कुनै निर्णय नगरेकोले भोली रिद्धिसिद्धि (जुन थानकोटबाट चल्छ) बन्द गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन्।
असोज १५, २०८३ बिहीबार २१:५९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।