जापानीज इन्सेफलाइटिसबाट १३ जनाको मृत्यु : खोप नलगाएकाहरूमा संक्रमण बढी, सजग नभए महामारीको जोखिम
काठमाडौं : नेपालमा जापानिज इन्सेफलाइटिस भाइरसको संक्रमणले वैशाखयता मात्र चार पुरुष र नौ महिला गरी १३ जनाको जनाको मृत्यु भयो। मृतकमध्ये झापामा पाँच र सुनसरी, मोरङ, इलाम, रौतहट, धनुषा, पर्सा, काभ्रे, दाङमा एक/एक जना रहेका छन्।
पुरुषको तुलनामा महिलाको मृत्यु बढी देखिए पनि त्यसको यकिन कारण भने अझै खुल्न सकेको छैन। सङ्क्रमितमध्ये २४ प्रतिशत व्यक्तिको मृत्यु भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाकाको तथ्यांकले देखाउँछ।
बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार मृतक १३ जनाले नै जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाएको देखिएन। मृतकमध्ये ९२ प्रतिशत व्यक्ति ५० वर्षभन्दा बढीको उमेर समूहका छन्।
१५ वर्षभन्दा कम उमेर समूहमा यो रोगको सङ्क्रमण भए मृत्युको जोखिम उच्च हुन्छ। तर, पहिले-पहिले जापानीज इन्सेफलाइटिस विरुद्धको खोप लगाउने चलन नभएको हुँदा ५० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिको मृत्यु बढी देखिएको डा. गौतमले बताए।
जापानिज इन्सेफलाइटिसको समस्या भएका व्यक्तिको मस्तिस्कमा सङ्क्रमण हुने भएकाले सङ्क्रमितमध्ये करिब ३० प्रतिशतसम्म व्यक्तिको मृत्युको जोखिम हुने डा. गौतमले बताए।
बाँचेका करिब ३० प्रतिशत व्यक्तिमा समेत मुख बांगीने, बौद्धिक क्षमतामा समेत कमजोर हुने, कान नसुन्ने, हात-खुट्टा नचल्ने जस्ता समस्या निम्तन सक्ने उनी बताउँछन्। बाँकी ४० प्रतिशत व्यक्तिमा भने कुनै समस्या नदेखिने गरेको उनले सुनाए।
महामारी नै निम्तन सक्ने जोखिम
नेपालमा लामो समयदेखि जापानिज इन्सेफलाइटिस भाइरसको संक्रमित र मृत्यु हुने भए पनि यस वर्ष (सन् २०२६ मा) सङ्क्रमितको खोजपड्तालमा बढी सक्रिय भएकाले सङ्क्रमितको संख्या बढी पत्ता लागेको डा. गौतमको तर्क छ।
जापानिज इन्सेफलाइटिस भाइरसको संक्रमणले सन् २०२३ मा २० जना, २०२४ मा २८ र २०२५ मा ४१ जनाको मृत्यु भएको थियो। वर्षेनी मृतकको संख्या बढिरहेको यो तथ्यले कुनै पनि बेला नेपालमा जापानीज इन्सेफलाइटिस भाइरसको संक्रमणले उग्र रूप लिन सक्ने संकेत देखिन्छ।
नेपालमा सन् १९१९ मा जापानिज इन्सेफलाइटिस भाइरसविरुद्ध खोप लगाउन सुरु भए पनि २००६ बाट सङ्क्रमण देखिएको ठाउँमा अभियानको रूपमा खोप लगाउन थालिएको उनले जानकारी दिए।
डा. गौतमका अनुसार सन् २००९ बाट जोखिमयुक्त ठाउँमा मात्रै नियमित रूपमा लगाउन थालिएको जापानीज इन्सेफलाइटिस भाइरसविरुद्ध खोप २०१६ बाट देशव्यापी बनाइएको थियो।
नेपालमा खोपको प्रभावकारी व्यवस्थापन गर्ने र खोजपड्ताल गरी नियन्त्रणका प्रभावकारी उपाय नअपनाएको खण्डमा जापानीज इन्सेफलाइटिसले पुनः महामारीकै रूप लिन सक्ने जोखिम देखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्ज युनिट संयोजक डा. शेर बहादुर पुनले बताए।
करिब २० वर्ष अघि जापानीज इन्सेफलाइटिसको संक्रमित भएर टेकु अस्पताल पुर्याइएका बिरामीको मृत्यु नजिकबाट देखेका डा. पुन बेलैमा सचेत हुनुपर्ने सुझाव दिन्छन्। त्यो बेला यसले धेरैको ज्यान लिएको थियो।
सङ्क्रमितमध्ये ८९ प्रतिशतले लगाएका थिएनन् खोप
सन् २०२६ को हालसम्म नेपालमा २८ पुरुष र २६ महिला गरी ५४ व्यक्तिमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भइसक्यो।
सङ्क्रमितमध्ये ८९ प्रतिशतले जापानीज इन्सेफलाइटिस विरुद्धको खोप लगाएका छैनन्। यस २१ जिल्लाका ४३ वटा पालिकामा भएको सङ्क्रमितको तथ्य हो।
जापानिज इन्सेफलाइटिस भाइरसको संक्रमणले मस्तिस्कमा गम्भीर असर पुर्याउँछ। विशेषागरी क्यूलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानीज इन्सेफलाइटिस मानिसमा सर्छ।
हाँस, बकुल्ला र बंगुर जस्ता पशुपक्षीबाट यो रोगको मानिसमा सरेको पाइन्छ। हाँस, बकुल्ला र बंगुर जस्ता संक्रमित पशुपक्षीलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो रोग मान्छेमा सर्ने भएकाले सचेत रहन चिकित्सकको सुझाव छ।
डा. गौतमका अनुसार तराईंका जिल्लामा बढी संक्रमित देखिएका छन्। “धान खेती हुने, सुँगुर र हाँस पालन गरिने ठाउँमा बढी जापानीज इन्सेफलाइटिसले संक्रमित भएको पाइन्छ”, डा. गौतमले भने, “धान खेतमा पानी जम्छ, पानी जमेको ठाउँमा क्युलेक्स जातको लामखुट्टेले फूल पारेर लामखुट्टे फैलिन्छ।”
समयमै उपचार नपाए मृत्युकै जोखिम
जापानिज इन्सेफलाइटिसको समस्या भएका अधिकांश व्यक्तिमा सङ्क्रमण हुँदा सामान्य लक्षण नदेखिन सक्छ। तर, जापानीज इन्सेफलाइटिस संक्रमित भएर भाइरस मस्तिष्कसम्म पुगेको खण्डमा पाँच दिनदेखि दुई हप्तासम्ममा कडा किसिमका लक्षण देखिन्छन्।
एक्कासि उच्च ज्वरो आउनु, अत्यधिक टाउको दुख्नु, बान्ता हुनु र थकान महसुस हुनु जापानिज इन्सेफलाइटिसका सुरुवाती लक्षण हुन्।
बेलैमा उपचार नपाए गर्धन कडा हुने तथा दुख्ने, अर्ध चेतन र अचेतनसम्मको अवस्था निम्तिने, शरीर काम्ने, शरीरका अंगहरू पक्षाघात हुने तथा राम्रोसँग चल्न नसक्ने जस्ता जापानीज इन्सेफलाइटिसका लक्षण देखिन्छन्। यस्ता लक्षण देखिए तत्कालै उपचार नपाएको खण्डमा संक्रमित व्यक्तिको मृत्युसमेत हुन सक्ने डा. पुनले बताए।
बच्ने मुख्य उपाय खोप छ तर, विशेष औषधी छैन
जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाउनु नै यसको सङ्क्रमणबाट बच्ने मुख्य उपाय हो। राष्ट्रिय खोप तालिकाअनुसार नेपालमा १२ महिनाको उमेरमा एक पटक बालबालिकालाई जापानीज इन्सेफलाइटिस विरुद्धको खोप दिइन्छ।
केहीगरि १२ महिनामा खोप लगाउन छुटे पाँच वर्षभित्रमा समेत लगाउन सकिने डा. गौतमले बताए। पाको उमेरका व्यक्तिमा समेत जापानीज इन्सेफलाइटिस विरुद्धको खोप लगाउन सकिने भए पनि नेपालमा त्यस्तो व्यवस्था नभएको उनले बताए।
जापानिज इन्सेफलाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ। डेंगीको सङ्क्रमणबाट बच्न समेत लामखुट्टेकै टोकाइबाट बच्नुपर्ने हुन्छ।
लामखुट्टेको टोकाइबाट बच्न झुल लगाएर सुत्ने, विशेषगरी साँझ र बिहानको समयमा क्यूलेक्स लामखुट्टे बढी सक्रिय हुने भएकाले यो समयमा बाहिर निस्कँदा शरीर ढाक्ने गरी लुगा लगाउन चिकित्सकको सुझाव छ।
घर वरिपरि पानी जम्न नदिने, बंगुर र हाँसजस्ता पशुपक्षी पालन स्थल मान्छेको बस्तीभन्दा टाढा राख्नसमेत चिकित्सकको सुझाव छ। बंगुर र हाँसजस्ता पशुपंक्षीलाई लामखुट्टेको टोकाइबाट बचाउन जाली लगाइदिनु उचित हुने डा. गौतमको बताए।
जापानीज इन्सेफलाइटिसको उपचारका लागि विशेष औषधि छैन। त्यसैले बिरामीको लक्षणका आधारमा यसको उपचार विधि अपनाइने डा. पुन बताउँछन्।
साउन २८, २०८३ बिहीबार २०:१९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।