पेन्टागनद्वारा इरानसँगको युद्धमा मारिएका खमेरिकी सैनिकको तथ्याङ्क अपडेट
एजेन्सी : युद्धमा भएको क्षतिको विवरणमा पारदर्शिता नभएको भन्दै प्रश्न उठिरहेका बेला अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले शनिबार आफ्नोतर्फबाट हताहत डाटाबेस अद्यावधिक गरेको छ।
नयाँ विवरणमा थप १४० भन्दा बढी सैनिक घाइते भएको उल्लेख छ भने गत साता इरानी आक्रमणमा मारिएका चार सैनिकको नाम पनि डाटाबेसमा पुनः समावेश गरिएको छ।
रक्षा हताहत विश्लेषण प्रणालीले ‘जुलाई ७ देखि यता’ मारिएका र घाइते भएकाहरूको विवरण राख्न ‘ओभरसिज अपरेसन्स’ नामक नयाँ सूचीसमेत थपेको छ।
पेन्टागनको यो नयाँ तथ्याङ्कलाई ‘अपरेसन एपिक फ्युरी’को अद्यावधिक विवरणसँग जोडेर हेर्दा, अमेरिकाले गत फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गरेयता १८ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ६२४ जना घाइते भएका छन्।
गत साता सीएनएनले प्राप्त गरेको तथ्याङ्कमा घाइतेको सङ्ख्या ४८२ मात्र थियो, जुन अहिले ह्वात्तै बढेको छ।
तथ्याङ्कमा गडबडी र सांसदहरूको प्रश्न
इरानी आक्रमण जारी रहँदा पनि डिसीएएस प्रणालीमा मृतक र घाइतेको सङ्ख्या घटेको देखिएपछि गत साता पेन्टागनमाथि सञ्चारमाध्यम र सांसदहरूले कडा प्रश्न उठाएका थिए।
सिनेटको सशस्त्र सेवा समितिका १२ जना डेमोक्र्याटिक सांसदले बिहीबार रक्षामन्त्री पिट हेगसेथलाई पत्र लेख्दै तथ्याङ्कमा किन फेरबदल भइरहेको छ भनेर जवाफ मागेका थिए।
रक्षा मन्त्रालयका कार्यवाहक प्रेस सचिव जोएल भाल्डेजले बिहीबार सामाजिक सञ्जालमार्फत डिसीएएसको वेबसाइटमा देखिएको ‘अस्थायी प्राविधिक गडबडी’का कारण सङ्ख्या घटेको जिकिर गरेका थिए।
सिएनएनले गत साता उक्त वेबसाइटको निरन्तर निगरानी गर्दा तथ्याङ्कमा पटक-पटक उतारचढाव आएको पाएको थियो।
तथ्याङ्कमा देखिएको यस्तो गडबडीबारे सिएनएनले शुक्रबार पेन्टागनसँग थप जानकारी मागेको थियो, तर आइतबार दिउँसोसम्म पनि मन्त्रालयले कुनै जवाफ दिएको छैन।
डिसीएएस साइटमा थपिएको नयाँ सूचीमा ‘जुलाई ७’ को मिति बाहेक कुन द्वन्द्वमा हताहत भएको हो भन्ने कुनै प्रस्ट विवरण खुलाइएको छैन। यो सूचीले कुन क्षेत्र वा कारबाहीलाई समेट्छ भन्ने प्रश्नमा पनि पेन्टागनले तत्काल कुनै प्रतिक्रिया दिएन।
यद्यपि, उक्त सूचीमा मारिएका सैनिकहरूको नाम भने समावेश छ, जसमा जोर्डनमा इरानी आक्रमणमा मारिएका तीन सैनिक र गत सप्ताहान्तमा उत्तरी इराकमा इरानी ड्रोनलाई नियन्त्रित रूपमा निस्तेज पार्ने क्रममा ज्यान गुमाएका एक सैनिकको नाम पनि छ।
वार पावर्स एक्टको विवाद
डाटाबेसमा उल्लेख गरिएको ‘जुलाई ७’को मिति राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसै महिनाको सुरुमा कङ्ग्रेसलाई पठाएको ‘वार पावर्स’ (युद्ध अधिकार) सम्बन्धी सूचनासँग मेल खान्छ, जसमा इरानसँग नयाँ द्वन्द्व सुरु भएको दाबी गरिएको थियो।
सन् १९७३ को ‘वार पावर्स एक्ट’ अनुसार, कङ्ग्रेसले अनुमति नदिएसम्म राष्ट्रपतिले ६० दिनभित्र सैन्य कारबाही अन्त्य गर्नुपर्ने हुन्छ। तर ट्रम्प प्रशासनले इरानसँग अप्रिलमा भएको युद्धविरामले मे १ देखि उक्त ६० दिने समयसीमा रोकिएको तर्क गरेको छ।
दुवै दलका (रिपब्लिकन र डेमोक्र्याटिक) सांसदहरूले प्रशासनको यो तर्कको विरोध गरेका छन्।
यद्यपि, केही विश्लेषक र अधिकारीहरू भने उक्त कानुनले नै राष्ट्रपतिको युद्ध गर्ने अधिकारमाथि असंवैधानिक अङ्कुश लगाएको दाबी गर्छन्। विदेशमन्त्री मार्को रुबियोले गत मे महिनामा ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त कानुन ‘शतप्रतिशत असंवैधानिक’ रहेको जिकिर गरेका थिए।
अलास्काकी रिपब्लिकन सिनेटर लिसा मुर्कोव्स्कीले जुलाई २१ को सुनुवाइमा रक्षामन्त्री हेगसेथसँग युद्धविरामको बहानामा समयसीमालाई नयाँ सिराबाट सुरू गरेर प्रशासनले कङ्ग्रेसलाई छल्न खोजेको भन्दै चिन्ता व्यक्त गरेकी थिइन्।
‘कानुनी रूपमा असहज हुनेबित्तिकै राष्ट्रपतिलाई ‘वार पावर्स’को समयसीमा खारेज गर्ने छुट यो दाबीले दिन्छ,’ उनले भनेकी थिइन्, ‘यसले संविधान र वार पावर्स एक्टले परिकल्पना गरेको कङ्ग्रेसको अनुमति लिने प्रावधानलाई बेवास्ता गर्छ।’
साउन ११, २०८३ सोमबार ०९:२६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।