नेपालमा पनि प्रश्नपत्र लिक !,स्ववियुले माग्यो डिनको राजीनामा

नेपालमा पनि प्रश्नपत्र लिक !,स्ववियुले माग्यो डिनको राजीनामा

काठमाडौँ : भारतमा निटको प्रश्नपत्र लिक भएको विषयमा सुरु भएको कक्रोच जना पार्टीको आन्दोलन शिक्षामन्त्रीको राजीनामा गएर टुंगियो। त्यही आसपास यता नेपालमा  त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र ह्वाट्स एप समूहबाट लिक भएको सार्वजनिक भयो।

साउन ८ गते परीक्षा सुरु सुरु भएको केही मिनेटमै एक ह्वाट्स एप ग्रुपमा पहिला प्रश्नपत्र अनि पछि त्यसकै सोलुसन बाहिरिएको पुष्टि भइसकेको छ। साउन ८ गते सञ्चालित ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही समयमै प्रश्नपत्र ह्वाट्सएप ग्रुपमार्फत लिक भएको खुलेसँगै अहिले प्रहरी अनुसन्धानमा जुटेको छ भने विद्यार्थी संगठनले जिम्मेवार अधिकारीको राजीनामा मागेका छन्।

उता भारतमा यस्तै विषयमा राष्ट्रव्यापी आन्दोलन भएर सहमति भएकै दिन यता नेपालमा पनि प्रश्नपत्र बाहिरिएको सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेल सक्रिय भएर प्रहरी नेतृत्वसँग छलफलमा जुटेका थिए। प्रहरीले आइतबारै सो प्रकरणमा जोडिएको ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

ह्वाट्सएप ग्रुपमै ‘हेल्प इच अदर’ भन्दै सोलुसन शेयर

स्क्रिनसट स्रोत : टीयू स्टुडेन्टप्रश्नपत्र ‘एमबीएस फर्स्ट सेम, सेक्सन सी’ नाम दिइएको र १०२३ जना सदस्य रहेको ह्वाट्सएप ग्रुपबाट बाहिरिएको थियो। ‘हेल्प इच अदर’ (एक अर्कालाई सहयोग गरौँ) भन्ने उद्देश्य लेखिएको उक्त ग्रुपमा दिउँसो १२:०५ बजे ‘सुलभ सर’ नामक आइडीबाट प्रश्न पत्रको पीडीएफ फाइल पोस्ट भएको देखिन्छ।

प्रश्नपत्र आउनासाथ विद्यार्थीहरूले “सर सोलुसन नि पठाइदिनु” भन्दै रिप्लाई गरेका थिए। लगत्तै ‘सुलभ सर’ ले सोलुसनका फोटोहरू र अडियो मेसेज पठाएका थिए। कुराकानीका क्रममा केही विद्यार्थीहरूले खुसी व्यक्त गर्दै “हामी जब होल्डर्सका लागि वेस्ट ग्रुप भयो यो त, सेलेक्टिभ क्वेसन्स पढ्दा नि आज ९५ गरेँ” भनी प्रतिक्रिया दिएका थिए।

त्यसैगरी, सुलभ सरले आगामी ‘अर्थशास्त्र’ (इकोनोमिक्स) विषयको पनि रातिको ११ बजे महत्वपूर्ण प्रश्न र सोलुसन उपलब्ध गराउने आश्वासन दिएको स्क्रीनसटमा देखिन्छ। यसले यो प्रकरणको मुख्य व्यक्ति सुलभसर नामक व्यक्ति रहेको देखिन्छ। उनको पूर्ण परिचय खुलेको छैन।

साइबर ब्युरोमा पत्राचार, तीन सदस्यीय छानबिन समिति

घटना सार्वजनिक भएपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय डीनको कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल प्रहरीको साइबर ब्युरोलाई दोषी पहिचान गरी कडा कारबाही गर्न पत्राचार गरेको थियो। सहायक डीन डा. भरत राईले आधिकारिक रूपमा पत्राचार गर्दै घटनाको अनुसन्धानका लागि अनुरोध गरे।

त्यस्तै, परीक्षा नियन्त्रण महाशाखाले घटनाको सत्यतथ्य छानबिन गर्न प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्यो। समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सह-प्रा.डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य सह-प्रा.डा. महेशराज ओझा सदस्य छन्। समितिलाई सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

स्ववियुद्वारा डीनको राजीनामा माग

एमबीएसको प्रश्नपत्र लिक भएको घटनालाई लिएर त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष दीपक जोशीले दुई दिनभित्र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही नभए व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेका छन्। 

“परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन सक्दैन,” जोशीले भने। प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

साउन १०, २०८३ आइतबार १५:४२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।