विदेशी विश्वविद्यालयसँग सम्बन्धमा कडाइ, सरकारले बनायो नयाँ मापदण्ड
काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सम्बन्ध कस्दै एक कलेजले एक भन्दा बढी विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिन नपाउने प्रावधान ल्याएको छ। नयाँ मापदण्डमा सम्बन्धन दिने विदेशी विश्वविद्यालय क्युएस वर्ल्ड युनिभर्सिटी र्यांकिङ वा टाइम हाइयर इजुकेशन वर्ल्ड युनिभर्सिटी र्याकिङको शीर्ष एक हजार भित्र परेको हुनुपर्ने प्रावधान राखेको छ।
यस अगाडि विदेशी विश्वविद्यालयसँगको सम्बन्धनमा यस्तो र्याकिङलाई महत्त्व दिने गरिएको थिएन। नयाँ मापदण्डमा अब हजारभित्र नरहेको कलेजसँगको सम्बन्धन मान्य नहुने उल्लेख छ।
अन्यमा कलेजले विश्वविद्यालय अनुदान आयोग नेपालबाट अनिवार्य रूपमा क्वालिटी एस्युरेन्स र एक्रिडेसन पाएको हुनुपर्ने, सम्बन्धित विदेशी विश्वविद्यालय रहेको देशको मान्यता प्राप्त गुणस्तर सुनिश्चितता निकायबाट पनि क्युएए वा सोसरहको मान्यता प्राप्त गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ।
प्रत्येक सेक्सन( कक्षा)मा छात्रवृत्तिसहित अधिकतम ३५ या विश्वविद्यालयले तोकेको कोटामा जुन कम हुन्छ त्यति जना विद्यार्थी मात्र भर्ना गर्न पाइने, एक शैक्षिक वर्षमा दुईभन्दा बढी इन्टेक सञ्चालन गर्न नपाइने, विदेशी लगानी भएका कलेजले कुल विद्यार्थी सङ्ख्याको २० प्रतिशत तथा स्वदेशी लगानी भएका कलेजले १० प्रतिशत विद्यार्थीलाई नेपाल सरकारले तोकेको मापदण्डअनुसार पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने सर्तमा उल्लेख छ।
स्नातकोत्तर तह सञ्चालन गर्ने कलेजमा कम्तीमा तीन जना पिएचडी उपाधि प्राप्त पूर्णकालीन प्राध्यापक अनिवार्य रूपमा हुनुपर्ने, कुनै पनि कलेजले आठभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा नयाँ भर्ना लिन नपाउने, एक कलेजले एकभन्दा बढी विदेशी विश्वविद्यालयको सम्बन्धन लिन नपाउने र हाल एकभन्दा बढी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजले तोकिएको अवधिभित्र कुनै एक सम्बन्धन मात्र कायम राख्नुपर्ने नयाँ मापदण्डमा उल्लेख छ।
असार २४, २०८३ बुधबार २३:३३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।