एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डका अनुसार असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा १ लाख ४८ हजार ५०७ परीक्षार्थीले आवेदन दिएका मध्ये १ लाख २९ हजार १९४ जना परीक्षामा सहभागी भएका थिए। तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको ६४.६९ प्रतिशत हो।

जीपीएअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन्।

जीपीएअनुसार १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन्।

बोर्डले परीक्षाफल २० वटा संस्थाका वेबसाइट, आइभीआर तथा एसएमएस–यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ।

नतिजामा चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ। नतिजा प्रकाशनका क्रममा कुनै प्राविधिक त्रुटि देखिए आवश्यक परीक्षणपछि सच्याइने व्यवस्था पनि गरिएको छ।

असार २३, २०८३ मंगलबार ११:३९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।