इरानका पूर्व सर्वोच्च नेता खामेनीको कसरी गरिँदै छ अन्त्येष्टि ?

इरानका पूर्व सर्वोच्च नेता खामेनीको कसरी गरिँदै छ अन्त्येष्टि ?

एजेन्सी : इरानका पूर्व सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टि कार्यक्रमको दोस्रो दिन राजधानी तेहरानमा श्रद्धाञ्जली दिन ठूलो संख्यामा मानिसहरू जम्मा भएका छन्।

सन् १९८९ मा संस्थापक नेता अयातुल्ला रुहोल्ला खोमेनीको अन्त्येष्टि पछिको यो सबैभन्दा ठूलो राजकीय शोक सभा भएको दाबी गरिएको छ। हप्ताभर चल्ने शोक कार्यक्रममा उल्लेख्य जनसहभागिता रहने अनुमान गरिएको छ।

अन्त्येष्टिमा हुने अत्यधिक भीडलाई व्यवस्थापन गर्न तेहरानमा कडा सुरक्षा प्रबन्ध मिलाइएको छ। कार्यक्रम स्थलमा प्रवेशका लागि सुरक्षा जाँचको व्यवस्था गरिएको छ भने गर्मीका कारण हुनसक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै स्वयंसेवकहरूले प्राथमिक सेवा र खानपानको व्यवस्था मिलाएका छन्। 

अत्यधिक जनसहभागिताका कारण हुनसक्ने सम्भावित दुर्घटना वा मानवीय क्षतिलाई मध्यनजर गरेर बेहिश्त-ए-जहरा क्षेत्रमा आपत्कालीन योजना अन्तर्गत थप चिहानहरू समेत तयार पारिएको जनाइएको छ।

अन्त्येष्टि कार्यक्रमका बीच क्षेत्रीय तनावका संकेतहरू पनि देखिएका छन्। इरानका उप-विदेशमन्त्री काजेम गरिबाबादीले 'स्ट्रेट अफ होर्मुज'मा बाह्य हस्तक्षेपको विरोध गर्दै यसको सुरक्षा तटीय देशहरूको जिम्मेवारी भएको बताए।

फ्रान्स र बेलायतको सम्भावित संयुक्त गस्तीको चर्चालाई लिएर इरानले प्रतिक्रिया दिएको छ। यसैबीच, सामुद्रिक मार्ग भएर जाने केही व्यापारिक जहाजहरू फर्किएको विवरण प्राप्त भए पनि त्यसको आधिकारिक कारण खुलेको छैन।

यता, इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले अमेरिकाले यस क्षेत्रको बदलिएको भू-राजनीतिक यथार्थलाई स्वीकार गर्नुपर्नेमा जोड दिए। उनले विद्यमान परिस्थितिकै आधारमा आगामी कूटनीतिक र व्यापारिक सम्बन्धहरू तय हुने बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वर्तमान शोकको समयलाई ध्यानमा राख्दै आफूले तत्काल कुनै सैन्य कदम नचाल्ने निर्णय गरेको बताए। 

खामेनीको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि तेहरानपछि कोम, नजफ, कर्बला र मशहद गरी पाँच सहरमा लैजाने कार्यक्रम छ। राजकीय कार्यतालिका अनुसार आगामी जुलाई ९ मा उनको गृह नगर मशहदस्थित इमाम रजाको दरगाह नजिकै समाधिस्थ गरिनेछ। 

असार २१, २०८३ आइतबार ०८:०६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।