इन्स्टाग्रामद्वारा भारतमा बाल यौन दुर्व्यवहारका भिडियोलाई बढावा दिने विज्ञापन प्रसारण

इन्स्टाग्रामद्वारा भारतमा बाल यौन दुर्व्यवहारका भिडियोलाई बढावा दिने विज्ञापन प्रसारण

एजेन्सी : विश्वकै अग्रणी सामाजिक सञ्जाल इन्स्टाग्रामले भारतमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री प्रवर्द्धन गर्ने स:शुल्क विज्ञापनहरू सहजै प्रसारण गरिरहेको सनसनीपूर्ण खुलासा भएको छ।

बीबीसीको खोजमूलक टोली (बीबीससि आई)ले गरेको विशेष अनुसन्धानले इन्स्टाग्रामले यस्ता गम्भीर आपराधिक विज्ञापनहरूलाई अनुमति दिने मात्र होइन, त्यसबापत शुल्क समेत असुलिरहेको फेला पारेको हो।

‘बलात्कार भिडियो’ र ‘चाइल्ड भिडियो’ जस्ता प्रतिबन्धित शब्द प्रयोग गरिएका यी विज्ञापनमार्फत प्रयोगकर्ताहरूलाई म्यासेजिङ एप टेलिग्राममा पुर्याएर प्रतिभिडियो ९९ भारुसम्ममा बिक्री गर्ने गरिएको पाइएको छ।

सामान्यतया इन्स्टाग्राममा कुनै पनि विज्ञापन प्रकाशित हुनुअघि कम्पनीको स्वचालित मोडरेसन प्रविधिले परीक्षण गरेर मात्र स्वीकृति दिने गर्दछ। तर, यति संवेदनशील र गम्भीर सामग्रीलाई प्रविधिले कसरी स्वीकृत गर्यो भन्ने विषयमा गम्भीर प्रश्न खडा भएको छ।

अझ आश्चर्यजनक कुरा त के छ भने, बीबीसीले यस्तै एउटा गम्भीर विज्ञापनबारे रिपोर्ट गर्दा इन्स्टाग्रामले २४ घण्टापछि जवाफ दिँदै उक्त पोस्टले आफ्नो कम्युनिटी गाइडलाइन उल्लङ्घन नगरेको भन्दै हटाउन अस्वीकार गरेको थियो।

पछि बीबीसीले इन्स्टाग्रामको मातृ कम्पनी मेटासँग आधिकारिक प्रतिक्रिया मागेपछि मात्र कम्पनीले ती विज्ञापनहरू हटाएको, सम्बन्धित खाताहरू निलम्बन गरेको र लिङ्कहरू ब्लक गरेको बताएको छ। मेटाले आफ्नो प्रणाली शतप्रतिशत सही नरहेको र गल्तीवश त्यस्ता विज्ञापन स्वीकृत भएको स्वीकार गरेको छ।

यस गम्भीर लापरबाहीप्रति भारतको सर्वोच्च अदालतका पूर्व न्यायाधीश मदन लोकुरले कडा आपत्ति जनाएका छन्। उनले इन्स्टाग्रामले यस्तो आपराधिक क्रियाकलापमा सहभागी भएर पैसा कमाउनु अक्षम्य भएको बताउँदै भारत सरकार र सर्वोच्च अदालतले स्वतः सज्ञान लिएर सामाजिक सञ्जालविरुद्ध कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्।

भारतमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री र वयस्क अश्लीलताको वितरण गर्नु गम्भीर गैरकानुनी कार्य हो।

फेसबुकका पूर्व उपाध्यक्ष ब्रायन बोलान्डले बीबीसीको यस खुलासाले आफू स्तब्ध तर अचम्मित नभएको बताएका छन्।उनले इन्स्टाग्रामको एल्गोरिदम प्रयोगकर्ताहरूलाई बढीभन्दा बढी समय टिकाइराख्न र क्लिक तथा विज्ञापन राजस्व सङ्कलनका लागि थप चरम र उत्तेजक सामग्रीहरू देखाउने गरी डिजाइन गरिएको दाबी गरे।

हालै अमेरिकाको न्यू मेक्सिको राज्यको एक अदालतले बालबालिकाको सुरक्षासम्बन्धी विषयमा प्रयोगकर्तालाई भ्रममा पारेको आरोपमा मेटालाई ३७ करोड ५० लाख डलर जरिवाना तिर्न आदेश दिएको थियो।

भारतमा बाल यौन शोषणका चेतावनीहरू विश्वमै अमेरिकापछि सबैभन्दा बढी दर्ता हुने गर्छन्। तेलङ्गानाको साइबर सुरक्षा ब्युरोकी निर्देशक शिखा गोयल र मुम्बईस्थित गैरसरकारी संस्था ‘रति फाउन्डेसन’का अनुसार भारतमा यस्ता उजुरीहरूमध्ये अधिकांश मेटाका प्लेटफर्महरूबाट सिर्जना हुने गरेका छन्।

अपराधीहरूले इन्स्टाग्रामको सहज पहुँचलाई प्रयोग गरेर प्रयोगकर्तालाई टेलिग्राममा डोर्याउने र अनुसन्धानबाट बच्ने संयन्त्र बनाएको देखिएको छ। अर्कातर्फ, टेलिग्रामले सन् २०२६ मा बाल यौन दुर्व्यवहारसँग सम्बन्धित २ लाख ७४ हजारभन्दा बढी समूह र च्यानलहरू हटाएको दाबी गरेको छ।

असार १९, २०८३ शुक्रबार १२:३१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।