विश्वविद्यालयहरूमा नयाँ राष्ट्रिय शैक्षिक पात्रो लागू, भर्नादेखि नतिजासम्म तोकिएकै समयमा
काठमाडौं : उच्च शिक्षाको शैक्षिक प्रणालीलाई थप व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय शैक्षिक पात्रो विकास गरी कार्यान्वयनमा ल्याइएको छ।
विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र पात्रोमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक पात्रो लागू गरेको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयले मङ्गलबार मन्त्रिस्तरीय निर्णयमार्फत पूर्वस्वीकृत भई कार्यान्वयनमा रहेको उच्च शिक्षाको राष्ट्रिय शैक्षिक पात्रोसम्बन्धी प्रतिवेदन, २०८० लाई समयानुकूल परिमार्जन गरी नयाँ राष्ट्रिय शैक्षिक पात्रो स्वीकृत गरेको छ। साथै, आवश्यक कार्यान्वयनका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत सबै विश्वविद्यालयहरूमा परिपत्र गर्ने निर्णय पनि गरिएको मन्त्रालयले जनाएको छ।
एकीकृत राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा आएसँगै विश्वविद्यालय शिक्षा सुधारमा फड्को हुने आयोगको विश्वास छ।
शासकीय सुधारसम्बन्धी सरकारको सयदिने कार्यसूचीको बुँदा नम्बर ८७ मा विश्वविद्यालयहरूबाट लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको पात्रोअनुसार निकाल्ने लक्ष्य राखिएको थियो। त्यसलाई शिक्षा तथा खेलकुल मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगमार्फत कार्यान्वयनमा ल्याएको हो।
विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ को उपदफा (१) को खण्ड (घ), (ङ) र (च) बमोजिम पात्रो कार्यान्वयन गरिनेछ। साथै, आवश्यक विषयहरू अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम समावेश गरी आवश्यक कार्यान्वयनका आयोगमार्फत विश्वविद्यालयलाई कार्यान्वयनका लागि निर्देशन दिइनेछ।
आयोगका उपनिर्देशक रमेशप्रसाद अधिकारीका अनुसार परिमार्जित राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनसँगै विश्वविद्यालयहरूमा भर्ना, अध्यापन, परीक्षा, नतिजा प्रकाशनलगायत शैक्षिक गतिविधि निर्धारित समय तालिकाअनुसार सञ्चालन हुनेछ।
यसअघि आयोगले तयार गरेको शैक्षिक पात्रो २०८० साल भदौ २९ मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भई कार्यान्वयनमा आएको थियो। बदलिँदो शैक्षिक आवश्यकता र समयानुकूल सुधार गर्न आयोगले शैक्षिक पात्रो परिमार्जन समिति गठन गरेको थियो।
समितिको २०८३ जेठ १२ गतेको निर्णय तथा सिफारिसका आधारमा पात्रोमा आवश्यक संशोधन गरी मन्त्रालयमा स्वीकृतिका लागि प्रस्ताव पठाइएको थियो।
असार १७, २०८३ बुधबार १६:५१:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।