शेख हसिनाको घोषणा : 'यसै वर्ष बंगलादेश फर्किन्छु'
एजेन्सी : भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले चालु वर्षको अन्त्यसम्ममा स्वदेश फर्किने घोषणा गरेकी छन्।
उनले आफू व्यक्तिगत महत्वाकांक्षा नभई बंगलादेशमा लोकतन्त्रको पुनर्स्थापना, विधिको शासन र मुक्ति संग्रामको भावना रक्षाका लागि स्वदेश फर्किन लागेको भनेकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार हसिनाको दल अवामी लिग स्थानीय स्तरमा पुनः सक्रिय हुन थालेको बेला उनले स्वदेश फर्किने घोषणा गरेकी हुन्। आफूलाई मृत्युको डर नभएको भन्दै हसिनाले आफूविरुद्ध लगाइएका मुद्दा र सुनाइएका फैसलाहरूलाई राजनीतिक रूपमा प्रेरित र असंवैधानिक कदमको भएको भनेकी छन्।
सन् १९७५ को पारिवारिक हत्याकाण्ड र आफूमाथि विगतमा भएका आक्रमणहरूको स्मरण गर्दै उनले जनताको राजनीतिक अधिकारका लागि आफू जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताइन्। हसिनाले बंगलादेशको वर्तमान सरकारको कार्यकालमा देशको अर्थतन्त्र कमजोर भएको, अल्पसंख्यकमाथि आक्रमण बढेको र उग्रवाद फैलिएको आरोप समेत लगाएकी छन्।
तारिक रहमान नेतृत्वको वर्तमान सरकारले हसिनाको दल अवामी लिगका सदस्यहरूलाई स्वतन्त्र उम्मेदवारका रूपमा मात्र स्थानीय निर्वाचनमा उत्रिने अनुमति दिएको छ।
असार १५, २०८३ सोमबार ०९:३२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।