बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

एजेन्सी : भारतको बिहार राज्यस्थित बेगुसरायमा एक २८ वर्षीया महिलामाथि भएको विभत्स सामूहिक बलात्कारको घटनाले पुनः देशव्यापी आक्रोश निम्त्याएको छ।

यो घटनालाई बर्बरताका हिसाबले सन् २०१२ को चर्चित दिल्ली सामूहिक बलात्कार (निर्भया काण्ड) सँग तुलना गरिएको छ।

गत जुन ११ को राति चार सन्तानकी आमा ‘सोमा’ (परिवर्तित नाम) लाई उनको आफ्नै घरबाहिरको शौचालयबाट पाँच जनाको समूहले नियन्त्रणमा लिएर बाँधी, ब्लेडले प्रहार गरी सामूहिक बलात्कार गरेका थिए।

उनीहरूले पीडितको संवेदनशील अङ्गमा खाली गोलीको खोका लगायतका वस्तुहरू हालेर अमानवीय यातना दिएका थिए।

घटनालगत्तै अचेत अवस्थाकी श्रीमतीलाई उनका पतिले प्रहरी चौकी लैजाँदा सुरुमा प्रहरीले उजुरी लिन अस्वीकार गरेको थियो।

लापरबाही र असंवेदनशीलता देखाएको आरोपमा स्थानीय प्रहरी चौकी प्रमुख राजीव कुमारलाई पछि निलम्बन गरियो र जुन १३ मा मात्र आधिकारिक उजुरी दर्ता भयो।

अस्पतालले पीडितलाई पेट दुखाइको उपचार मात्र गरेर घर पठाएको थियो। पछि पुनः बेहोस भएपछि स्थानीय सुँडिनी को चेतावनी पछि मात्र उनको शरीरभित्र वस्तुहरू रहेको पत्ता लाग्यो।

जुन १८ मा डाक्टरहरूले उनको शरीरबाट गोलीको खोका र अन्य वस्तुहरू शल्यक्रिया गरी निकालेका थिए।

बेगुसरायका प्रहरी उपरीक्षक मनीषका अनुसार स्वास्थ्य परीक्षणबाट बलात्कार पुष्टि भएको छ। यस घटनामा संलग्न पाँच आरोपितमध्ये तीन जनाको पहिचान खुलेको छ र तीमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्यको खोजी जारी छ।

भारतमा सन् २०१२ को घटनापछि बलात्कार विरुद्ध कडा कानुन र मृत्युदण्डको सजाय व्यवस्था गरिए पनि वार्षिक ३० हजारभन्दा बढी बलात्कारका मुद्दा दर्ता हुने गरेका छन्।

अभियन्ताहरूका अनुसार ग्रामीण क्षेत्रमा प्रहरी र स्वास्थ्य प्रशासनको असंवेदनशील व्यवहारका कारण धेरै घटनाहरू बाहिर आउन पाउँदैनन्।

असार ९, २०८३ मंगलबार १०:४७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।