अत्यधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिनका लागि बन्द
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेपछि नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरू चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाले भोलि असार ९ गतेदेखि असार १२ गतेसम्मका लागि विद्यालयहरूमा पठनपाठन बन्द गर्न निर्देशन दिएको हो।
उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय (शिक्षा युवा तथा खेलकुद महाशाखा)ले सोमबार एक सूचना जारी गर्दै विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मीका कारण अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर बिदा दिने निर्णय गरिएको जनाएको छ।
शिक्षा अधिकृत जयराज जैशीद्वारा हस्ताक्षरित सूचना अनुसार यो बिदा उपमहानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक (सरकारी) तथा संस्थागत (निजी) विद्यालयहरूमा लागू हुनेछ।
यो चार दिनको बिदालाई पछि वर्षे वा हिउँदे बिदाबाट कट्टा गरी मिलान गर्ने गरी व्यवस्था मिलाउन विद्यालयहरूलाई अनुरोध गरिएको छ।
यसैगरी, उपमहानगरपालिकाले गर्मी तथा तातो हावाबाट बच्नका लागि आवश्यक सावधानीका उपायहरू अपनाउन सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई आग्रह समेत गरेको छ।
असार ८, २०८३ सोमबार १३:५८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।