कक्षा १२ को परीक्षाफल सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ हुँदा १ लाख बढी ‘नन्-ग्रेडेड’

कक्षा १२ को परीक्षाफल सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ हुँदा १ लाख बढी ‘नन्-ग्रेडेड’

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा आज बिहान सार्वजनिक गरेको छ।

सार्वजनिक नतिजा अनुसार नियमिततर्फ परीक्षामा सहभागी विद्यार्थीमध्ये ६९.७५ प्रतिशत ‘ग्रेडेड’ (उत्तीर्ण) हुन सफल भएका छन्।

बोर्डका अनुसार नियमिततर्फको परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। बाँकी ३०.२५ प्रतिशत अर्थात् १ लाख ४ सय ७१ परीक्षार्थी भने ‘ग्रेडेड’ हुन सकेनन्।

यसपटक गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी सहभागी भएका थिए।

जसमध्ये आंशिकतर्फका ३६ हजार ४२० जनासहित कुल २ लाख ६८ हजार १९० जना ग्रेडेड भएको बोर्डले जनाएको छ। समग्र नतिजा हेर्दा नियमित र आंशिक दुवैतर्फ गरी कुल ६४.३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

यसैगरी, परीक्षाका क्रममा अमर्यादित गतिविधि गर्ने ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको समेत राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।

असार ५, २०८३ शुक्रबार १०:४६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।