अध्ययन बिदा लिएर नफर्किने शिक्षक-कर्मचारीलाई त्रिविको १५ दिने अल्टिमेटम

अध्ययन बिदा लिएर नफर्किने शिक्षक-कर्मचारीलाई त्रिविको १५ दिने अल्टिमेटम

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा उपभोग गरेर पनि नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन अन्तिम अल्टिमेटम दिएको छ।

त्रिविको ‘अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समिति’ले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र सम्पर्कमा नआए सम्झौता अनुसार कडा कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको हो।

यसअघि पनि सम्पर्कमा आउन सार्वजनिक आह्वान गरिएकामा हालसम्म सम्पर्कविहीन रहेका शिक्षक तथा कर्मचारीहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र समितिको कार्यालयमा उपस्थित हुन वा इमेल [email protected] मार्फत सम्पर्क राख्न निर्देशन दिइएको छ।

तोकिएको अवधिभित्र सम्पर्कमा नआए कानुन र सम्झौता बमोजिम कारबाही प्रक्रिया सुरु गरिने व्यहोरा सूचनामा स्पष्ट पारिएको छ।

हालसम्म ११ करोड ८४ लाख रुपैयाँ असुल
त्रिविका अनुसार अध्ययन बिदा लिएर सम्झौता विपरीत सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गराइसकिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सक्रियता र त्रिविको समन्वयमा यो रकम असुली प्रक्रिया अघि बढाइएको हो। बाँकी रहेका अन्य शिक्षक र कर्मचारीबाट पनि असुली प्रक्रियालाई निरन्तरता दिइने त्रिविले जनाएको छ।

दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले त्रिविले आफ्ना शिक्षक तथा कर्मचारीहरूलाई अध्ययन बिदाको विशेष सुविधा प्रदान गर्दै आएको छ।

तर, केही शिक्षकहरूले अध्ययन पूरा गरेपछि पनि सेवामा नफर्किएर सम्झौता उल्लंघन गर्दा विश्वविद्यालयलाई ठूलो आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको ठहर छ।

सम्झौता अनुसारको सेवा दायित्व पूरा नगर्ने कसैलाई पनि नछाडिने र कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने त्रिविको दृढता छ।

असार ३, २०८३ बुधबार १०:०८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।