अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सम्झौतामा के छ?

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सम्झौतामा के छ?

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्नका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेका छन्।

फ्रान्समा आयोजित जी-७ शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले यस सम्झौताको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने जानकारी दिए।

यस सम्झौतालाई मूर्त रूप दिन पाकिस्तान र कतारले मध्यस्थकर्ताको भूमिका खेलेका थिए।

सम्झौताका मुख्य बुँदाहरू:
यो सम्झौताले तत्कालका लागि ६० दिनको युद्धविराम लागू गर्नेछ। यस अवधिमा दुवै देशले स्थायी शान्ति सम्झौताका लागि विस्तृत छलफल गर्नेछन्।

यस्तै, आगामी शुक्रबार जेनेभामा औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर भएसँगै व्यापारिक हिसाबले महत्त्वपूर्ण मानिने ‘हर्मज जलडमरू’ समुद्री मार्ग पुनः खुला गरिनेछ। ट्रम्पले इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन आदेश दिइसकेका छन्।

त्यसैगरी सम्झौताको अर्को बुँदामा इरानले आणविक हतियार नबनाउने र क्षेत्रीय शान्ति कायम राख्दै हतियारधारी समूहहरूलाई आर्थिक सहयोग रोक्ने प्रतिबद्धता जनाउनुपर्ने उल्लेख छ।

यसका अलावा इरानले आफ्ना प्रतिबद्धताहरू पूरा गरेपछि मात्र उसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू हटाइने र रोक्का गरिएको रकम फुकुवा गरिने अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सका अनुसार यो सम्झौता करिब डेढ पानाको संक्षिप्त दस्तावेज हो। यसमा राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति भान्स र इरानी संसद्का सभामुख मोहम्मद बगेर गालिबाफले इलेक्ट्रोनिक माध्यमबाट हस्ताक्षर गरिसकेका छन्।

इरान र इजरायलको प्रतिक्रिया
इरानको विदेश मन्त्रालयले यस सम्झौतालाई दुई देशबीचको तनाव कम गर्ने एउटा कदम भनेको छ। यद्यपि, अमेरिकाप्रति आफ्नो गहिरो अविश्वास अझै कायमै रहेको इरानले स्पष्ट पारेको छ।

अर्कोतर्फ, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सम्झौता भए पनि वा नभए पनि इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने अडान दोहोर्याएका छन्।

इजरायली सेना आवश्यक भएसम्म लेबनान, सिरिया र गाजामा बसिरहने र आफ्नो रक्षाका लागि जुनसुकै बेला कदम चाल्न स्वतन्त्र रहने नेतन्याहुले बताए। यो सम्झौताको घोषणा भएलगत्तै पनि लेबनानमा इजरायली सेना र हिजबुल्लाहबीच छिटपुट आक्रमणका घटनाहरू भएका छन्।

अन्तर्राष्ट्रिय समुदायद्वारा स्वागत
बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यस सम्झौताको स्वागत गरेका छन्। बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले यस कदमलाई क्षेत्रीय स्थिरता कायम गर्न र व्यापारिक मार्ग खुला गर्नका लागि अत्यन्तै महत्त्वपूर्ण कदम भन्नुभएको छ। इरानले आणविक हतियार नबनाउने कुरा सुनिश्चित गरेमा आफूहरू इरानमाथिको प्रतिबन्ध हटाउन तयार रहेको ती देशहरूले बताएका छन्।

असार २, २०८३ मंगलबार ०९:११:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।